
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक बसिरहेको छ ।
नयाँ बानेश्वर बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बुधवार दिउँसो शुरू भएको बैठकमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने एक नेताले बताए ।
बुधवारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल उपस्थित भएका छैनन् । पार्टी विवाद समाधान गर्न गठित कार्यदलका संयोजक समेत रहेका रावलले १० बुँदे सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाएका छन् ।
अनैतिक राजनीतिमा सहभागी नहुने भन्दै रावलले साउन ३ गते प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका थिए । रावल संस्थापन पक्षको केन्द्रीय कमिटी बैठकमा पनि उपस्थित भएका छैनन् ।
संस्थापन पक्षको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ जनालाई स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएपछि माधव नेपाल समूह छलफलमा जुटेको हो । २२ जना सांसदले मंगलवार छलफल गरेका थिए ।
यसैबीच एमाले संस्थापन पक्षको केन्द्रीय कमिटीको बैठक बुधवार पनि बस्दै छ । सोमवार शुरू भएको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाकक्षमा बस्न लागेको हो ।