२२ जेठ २०८३, शुक्रबार

अहिलेका समकालीन नेताहरू यसकारण बीपीजस्तो बन्न सकेनन्– डा. चन्द्र भण्डारी

अहिलेका समकालीन नेताहरू यसकारण बीपीजस्तो बन्न सकेनन्– डा. चन्द्र भण्डारी

हामीले नेपालको राजनीतिक इतिहासमा अत्यन्तै नभुल्ने व्यक्ति हुनुहुन्छ- बीपी, सुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराई ।

बीपी कोइराला त्यो हाइटको नेता बन्नुमा जति गणेशमान, सुवर्ण किसुनजीको भूमिका थियो । कोइराला परिवारको पनि उत्तिकै योगदान छ ।

उहाँको बुवाको आदर्श पनि छ । नेपाली जनताको पनि उत्तिकै योगदान छ । यो कुरामा इतिहास लेख्नेको कन्जुस्याइँ छ ।

बीपी प्रधानमन्त्री भएको बेलामा उहाँले जसरी नेपाली जनताको झुपडी र हलो जोतेको किसानको तस्वीरलाई हेरेर नेपालको योजना बनाऊ भन्नुभयो, यो कुरा सिंगो दर्शन हो ।

शास्त्रले मानिसलाई इमान्दार बनाउँछ, शस्त्रले मानिसलाई हिंसामा ल्याउँछ । पछिका नेताहरू शस्त्रमा लागे, मानिसको विनाश गरायो । 

कति मान्छेहरू मोहमा लागे, रसपानमा लागे उनीहरूको इज्जत रहन सकेन । कति परिवार आफ्नो गुट र परिवारमा लागे उनलाई सम्झिन सकेनन् ।

तसर्थ बीपी शास्त्रमा लाग्नुभयो जसले गर्दा सबैले सम्झिए, इमान्दारीमा लाग्नुभयो ।

उहाँले सफलता र असफलतालाई पदसँग जोड्न चाहनुभएन । देश र प्रजातन्त्रका लागि कसैसँग झुक्न चाहनु भएन । अन्तिममा असल मानिस भएर बाँच्न चाहन्छु, भन्नुभयो ।  

उहाँसित आर्थिक विकासको खाका थियो । सरलताको खाका थियो । विश्वका नेताहरूसामु तर्क राखेर जित्ने क्षमता थियो । उहाँसित अत्यन्त असल मित्र हुनुहुन्थ्यो– गणेशमान, सुवर्ण र किसुनजी ।

अहिलेका नेतासँग क्षणिक सम्झना हो । त्यसैले नेपालीहरू अहिले पनि बीपीलाई मन मष्तिकबाट सम्झिने गर्छन् । अहिलेको विश्व परिवेशमा विकास भएको राजनीतिक परिभाषाभित्र उहाँहरू पर्नु हुन्न ।

अहिलेका नेतालाई सुविधा छ, तर राजनीतिको मूल्य र मान्यता छैन । देश र समाजलाई हेर्ने दृष्टिकोण छैन । बदलिएको समयअनुसार दिमागमा रुपान्तरण भएको छैन । समाजलाई रुपान्तरण गर्ने क्षमता भएको व्यक्ति अहिले नेतृत्वमा छैनन् । 


उहाँहरू वरिपरि गरीबका झुपडी राखेर आफू अग्लो महल बनाएर महान देखिन खोज्नुहुन्छ । देशको सिमानामा सुरक्षा छैन र उहाँहरू सुरक्षा बढाउन चाहनुहुन्छ । 

जनताको पहुँचमा, गाउँपलिकामा एम्बुलेन्स छैन, उहाँहरू सबैभन्दा महंगो गाडी चढेर हिँड्नुहुन्छ । चाहे कर्मचारी या संवैधानिक निकायका प्रमुख किन नहुन्, सबैलाई सुविधा चाहिएको छ । देश बनाउने भावना छैन ।

भावना विनाको मान्छे स्वार्थी हुन्छ, मूर्ख हुन्छ । भावना विनाको मान्छेको आकृति मात्र हुन्छ, सुविधाले के गर्नु ? 

(लोकान्तरसँगको कुराकानीमा आधारित)

salt training

कमेन्ट गर्नुहोस्