१२ साउन २०८३, मंगलबार

बीपी कोइराला मेरा अभिभावक : प्रधानमन्त्री देउवा

साउन ६, २०७८
बीपी कोइराला मेरा अभिभावक : प्रधानमन्त्री देउवा
फाइल फोटो

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला आफ्नो राजनीतिक गुरु मात्रै नभई अभिभावक पनि रहेका बताएका छन् ।

उनन्चालिसौं बीपी स्मृति दिवसका अवसरमा बुधवार प्रधानमन्त्री देउवाले एक सन्देशमार्फत् बीपी कोइरालाको प्रेरणाले नै आफूहरू लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले बुधवार आफ्नो स्मृति ४ दशकअघि उनीसँगको सामिप्यतामा फर्किएको बताउँदै बीपीको मार्गदर्शन जीवनभर आफ्नो प्रेरणा हुने पनि बताए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शिखर पुरुष एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाप्रति प्रधानमन्त्री देउवाले श्रद्धासुमन व्यक्त गरे ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको योगदानको स्मरण गरी बुधवार ३९औं स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । 

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो । 

कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विक्रम संवत् २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

विक्रम संवत् २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिकाभरमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी बीपी कोइराला, प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्री तथा कांग्रेस नेताहरूलाई बन्दी बनाएका थिए ।

बीपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । उनका कैयौं कृति नेपाली पाठकबीच लोकप्रिय छन् । 

salt training

कमेन्ट गर्नुहोस्