
बुधवार देशभर २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १२ हजार ६१६ जनामा परीक्षण गर्दा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८ हजार ७१५ जनाको पीसीआर र ३ हजार ९०१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । बुधवार पुष्टि भएका नयाँ संक्रमितसँगै देशभर संक्रमितको कूल संख्या ७ लाख २४ हजार ४५५ पुगेको छ भने ६ लाख ३६ हजार ४०२ जना पूर्ण स्वास्थ्य लाभ गरी घर फर्किएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीे जानकारी दिए ।
अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको छ । उनका अनुसार नेपालमा संक्रमणदर १९.२ प्रतिशत रहेको जानकारी दिए ।
पीसीआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई संक्रमण भइरहेको उनले बताए । एन्टिजेनबाट परीक्षण गर्दा २१ प्रतिशतमा संक्रमण भइरहेको छ ।
बुधवार स्वास्थ्य लाभ गरेर घर फर्कनेको संख्या १ हजार ४७५ पुगेको छ । यससँगै ६ लाख ३६ हजार ४०२ घर फर्किएका छन् ।
बुधवार ३० जनाको संक्रमणका कारणले निधन भएको छ । यससँगै ९ हजार ६३७ जनाको संक्रमणका कारणले निधन भएका छन् । प्रति १० लाख जनसंख्यामा ३२४.८ जनाको निधन भएको छ ।
उनका अनुसार २४ हजार ३४० जना होम आइसोलेसन, २ हजार ४९२ जना संस्थागत आइसोलेसन, ६२७ जना सघन उपचार कक्ष र १७१ जना भेन्टिलेटरमा रहेका छन् ।