
नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले सर्वोच्च अदालतको परमादेशका कारण कम्युनिस्ट पार्टी नेतृत्वको सरकार निर्दलीय सरकारमा रुपान्तरित भएको दाबी गरेका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा एमालेले बिहीवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेता थापाले निर्दलीय सरकारको स्थापनाले लोकतान्त्रिक आन्दोलनमा गत्यावरोधको स्थिति सिर्जना भएको बताएका हुन् ।
‘सर्वोच्चको परमादेशबाट कम्युनिस्ट पार्टीमा रहेको सरकार निर्दलीय सरकारमा परिणत भएको छ । अहिले निर्दलीय सरकार बनेको छ,’ थापाले भने । थापाले लोकतान्त्रिक प्रणाली स्थापनाको लागि फेरि संकल्प गर्नुपर्ने बताए ।
कम्युनिस्ट पार्टी विभाजन गर्न प्रतिगामी सफल भएको उनले बताए । ‘अहिले आन्दोलनबाट कम्युनिस्ट पार्टीको नेतृत्वलाई विस्थापित गरिएको छ, यसलाई पुनःस्थापित गर्नुपर्ने छ’ उनले भने ।
कम्युनिस्ट पार्टीलाई नयाँ शिराबाट पुनःनिर्माण गरेर मात्र लोकतन्त्र संस्थागत गर्न सकिने उनले बताए ।
अस्तव्यस्त र विभाजित अवस्थामा पुगेको पार्टीलाई महाधिवेशनमार्फत पुनर्निर्माण गर्नुपर्ने थापाले बताए ।