११ असार २०८३, बिहीबार

एमालेले बाँदरे जुलुस निकालेर कोरोनाको रोपाइँ गर्‍यो– रामनारायण बिडारी

एमालेले बाँदरे जुलुस निकालेर कोरोनाको रोपाइँ गर्‍यो– रामनारायण बिडारी
फाइल फोटो

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रतिपक्षी दल नेकपा एमालेले बाँदरे जुलुस निकालेर कोरोनाको रोपाइँ गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै बिडारीले कोरोना संक्रमण फैलाउने गरी जुलुस प्रदर्शन गरिएको आरोप लगाएका हुन् ।

केही दिनअघि एमालेको युवा संघले बानेश्वरमा बाँदरको भेषमा जुलुस निकालेको थियो ।

साथै उनले वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्ने पनि बताए ।​

‘इन्साफे व्यवस्थाको निम्ति, विकासे व्यवस्थाको निम्ति, फलाउने किसान, बनाउने मजदुरहरूको हित र कल्याणको निम्ति, किसान र मजदुरको हित र कल्याण भयो भने करीब-करीब ९० प्रतिशत जनताको हित हुन्छ । ती किसान, मजदुरलाई नेपालमा काम गर्न दिन नसकेर विदेश निर्यात गर्ने यस प्रकारको चलन अगाडीको सरकारले गरे । अब यो सरकारले त्यस प्रकारको कदमलाई सच्याएर इन्साफे, विकासे व्यवस्था गरौँ । यही शुभकामना छ । नत्र फेरि मुलुकले दुःख पाउँछ ।’

उनले विगतको सरकारले नेपाली नागरिकलाई रैती बनाएको पनि बताए । नेपाली नागरिकलाई नागरिकता, लालपूर्जा र सिफारिशमा अड्काएको उनको आरोप छ ।

‘विगतका जम्मै सरकारले रैती बनाउन खोजे । जनता बनाउन दिएन । कहिले लालपूर्जा अड्काइदिन्छ । कहिले नागरिकता अड्काइदिन्छ । कहिले सिफारिश अड्काइदिन्छ । कहिले सुविधा दिन्छु भनेर नदिएर अड्काइदिन्छ । कहिले अधिकार खोसेर जनतालाई आफ्नो वशमा राखिरहन्छ । नियन्त्रणमा राखिराख्छ,’ बिडारीले भने ।

आजसम्मका सरकारले भूमिहीनलाई नागरिकता नदिएर सुकुम्बासी खेती गरिरहेको पनि बिडारीले बताए । भूमिसम्बन्धी समस्या समाधानमा सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ ।

प्रतिनिधि सभा पुनःस्थापनाको सन्दर्भमा सर्वोच्च अदालतको फैसला संसारको लागि नमुना लायक भएको भन्दै यस नजिरलाई विश्वले नमूना बनाउने उनले जिकिर गरे ।

उनले भने – ‘अहिलेको अदालतको व्याख्या संसारलाई नमूना लायक छ । हामी अमेरिकाको संविधान, बेलायतको संविधान, भारत, पाकिस्तानको संविधानको नजिरहरु यहाँ पढ्दै थियौँ । अब बेलायतले नेपालको नजिर पढ्दैछ । अब संसदीय प्रणालीमा यो नजीरहरूको व्याख्या हुन्छ । र त्यसलाई साभार गरिन्छ । विश्वका अरु देशले यसलाई नमूना बनाउँछन् ।’

salt training

कमेन्ट गर्नुहोस्