२२ जेठ २०८३, शुक्रबार

गोलभेंडाले मूल्य नपाउँदा कृषक मर्कामा

साउन ८, २०७८
गोलभेंडाले मूल्य नपाउँदा कृषक मर्कामा
प्रतिकात्मक तस्वीर

बन्दाबन्दीको प्रभाव र गुणस्तरमा प्रश्न उठ्नाले यस वर्ष पाँचथरमा उत्पादित गोलभेंडाले उचित मूल्य पाउन सकेको छैन ।

गत वर्ष यही समय प्रतिकिलो २० रुपैयाँमा बिक्री भएको गोलभेंडा यसपालि प्रतिकिलो १० देखि १२ रुपैयाँमा बिक्री भइरहेको छ ।

गोलभेंडाको अत्यधिक उत्पादन हुने जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका कृषकले यस वर्ष उचित मूल्य प्राप्त गर्न नसकेका हुन् ।

कोभिड–१९ संक्रमणको महामारी तथा बन्दाबन्दीका कारण बजार प्रभावित हुनुका साथै अत्यधिक वर्षा हुँदा गुणस्तरीय गोलभेंडा उत्पादन नहुँदा मूल्यमा ह्रास आएको हो । गोलभेंडाले गत वर्षको भन्दा कम मात्रै मूल्य पाएपछि कृषक मर्कामा परेका हुन् ।

‘पोहोर साल प्रतिकिलो २० रुपैयाँभन्दा कम मूल्यमा बेच्नुपरेको थिएन,’ याङवरक–६ का गोलभेंडा उत्पादक कृषक रामकुमार गुरागाईंले भने, ‘यसपालि त १०/१२ मा बेच्न पनि कठिन पर्‍यो ।’

बन्दाबन्दीका कारण गोलभेंडाको बिक्रीमा व्यापारीबीच प्रतिस्पर्धा नहुँदा उचित मूल्य पाउन नसकेको कृषक गुरागाईंको भनाइ छ ।

‘हामी कृषक आफैंले बजार पुर्‍याएर बिक्री गर्न सक्ने अवस्था पनि छैन,’ गुरागाईंले भने, ‘निषेधाज्ञाका कारण समयमा व्यापारी नआउँदा कति टमाटर त कुहिएर गयो ।’ २५ रोपनी खेतमा बर्खे गोलभेंडा लगाउनुभएका गुरागाईंले कम्तीमा १ लाख आम्दानी गर्ने सोच बनाएका थिए । ‘अघिल्ला वर्षहरूमा १ लाख ६० हजारसम्म आम्दानी गरेको थिएँ,’ उनले भने, ‘यसपालि त साँवा नै उठेन ।’

कोभिड–१९ संक्रमणको महामारीका कारण दैनिक उपभोग्य सामग्रीको मूल्य बढेकै समयमा आफूहरूको उत्पादनले मूल्य नपाउँदा समस्या परेको कृषक रीता खड्काको भनाइ छ । ‘पहिले किन्नुपर्ने सामानको मूल्य सस्तो थियो । तर यसपालि बढेकै बेला हाम्रो उत्पादनले मूल्य पाएन,’ खड्काले भने, ‘पानी धेरै पर्नाले टमाटर कुहिएर जाने समस्या पनि देखियो ।’

गोलभेंडा पाकेर झर्न लागेपछि टिपेर राखे पनि समयमा व्यापारी नआउँदा त्यसै खेर फाल्नुपरेको उनको गुनासो छ । ५ रोपनी खेतमा लगाइएको गोलभेंडाबाट कम्तीमा ५० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य बनाएका याङवरक–६ कात्तिकेका पुष्पलाल पुरी १२ हजार पनि आम्दानी नहुँदा निराश छन् ।

‘बिक्री गरिसक्न लागें तर यसपालि टमाटरसँग धेरै आश छैन,’ पुरीले भने, ‘यसपालि प्रकृतिले नै धोका दियो ।’  – रवीन्द्र काफ्ले/रासस

salt training

कमेन्ट गर्नुहोस्