
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।
प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको बिहीवार निरीक्षणपछि उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताए ।
कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई संघले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री पोखरेलले आइसोलेसनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी सरकारको सम्पत्ति संक्रामक तथा सरुवा रोग अस्पताललाई मुलुकभरकै नमूना बनाउने प्रतिबद्धता व्यक्त गरे ।
गण्डकीका प्रमुख सचिव डा. दामोदर रेग्मीले कमजोर आर्थिक अवस्था भएको हाम्रो मुलुकले कोरोना नियन्त्रण र रोकथामका लागि गरेको काम अनुकरणीय भएको बताए । अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले सीमित स्रोत र साधनका बीच पनि अस्पतालले छोटो अवधिमा उत्कृष्ट कार्यसम्पादन गरेको उल्लेख गर्दै गत आर्थिक वर्षमा ८२१ जना कोभिड बिरामीको उपचार गरेको जानकारी दिए ।