
गत ईदमा उत्सव मनाउनका लागि सोहेल पार्दिस काबुलमा रहेको घरबाट नजिकैको खोस्त प्रान्ततर्फ गाडी चलाएर गइरहेका थिए ।
परिवारसँग रमाइलो समय बिताउने अवसर थियो । तर मे १२ मा उनले पाँच घन्टाको यात्रामा मरुभूमि पनि पार गर्नुपरेको थियो । उनको गाडीलाई एउटा चेकपोइन्टमा तालिबान लडाकूहरूले रोके ।
त्यसको केही दिनअघि पार्दिसले तालिबानबाट मारिदिने धम्की आइरहेको आफ्ना साथीलाई बताएका थिए । उनले अमेरिकी सेनाका लागि १६ महिनासम्म अनुवादकको काम गरेको तालिबानले थाहा पाएको थियो ।
‘तँ अमेरिकाको जासूस होस्, अमेरिकीहरूको आँखा होस्, काफिर होस्, हामी तँलाई र तेरो परिवारलाई मारिदिन्छौं,’ तालिबानले यसो भनेर धम्की दिएको उनले आफ्ना साथी तथा सहकर्मी अब्दुल्लाह अयूबीलाई सुनाएका थिए ।
चेकपोइन्टमा पार्दिसले गाडीको एक्सलरेटर थिचेर हुँइक्याएका थिए । पछि उनी मृत अवस्थामा भेटिए ।
घटनाका प्रत्यक्षदर्शी गाउँलेहरूले रेड क्रिसेन्टलाई बताएअनुसार, तालिबानले उनको गाडीमा गोली प्रहार गरेको थियो । त्यसपछि लडाकूहरूले उनलाई गाडीबाट बाहिर निकाले अनि टाउको काटिदिए ।
अमेरिकी सेनाका लागि अनुवादकको काम गर्ने हजारौंमध्ये पार्दिस पनि एक थिए । तालिबानले देशका विभिन्न भागमा कब्जा गर्ने क्रममा अनुवादकहरूलाई खोजीखोजी मारिरहेको छ ।
गत जुन महिनामा तालिबानले एक बयान जारी गरेर विदेशी सुरक्षाबलसँग मिलेर काम गर्नेहरूलाई हानि नगर्ने बताएको थियो । तालिबानका एक प्रवक्ताले घटनाको पुष्टिका लागि कोशिश गरिरहेको तर सबै घटना बताइएजस्तो नहुने भनी सीएनएनलाई प्रतिक्रिया दिएका छन् ।
अमेरिकी सेनाका लागि काम गर्ने लगभग १८ हजार अफगानहरूले विशेष आप्रवास प्रवेशाज्ञाका लागि निवेदन दिएका छन् । त्यो पाएमा उनीहरू अमेरिका जान पाउँछन् ।
जुलाई १४ मा ह्वाइट हाउसले अपरेसन अलाइज रिफ्युज नामक कार्यक्रम शुरू गर्ने बताएको थियो । अमेरिकाका लागि काम गरेका तथा ज्यान जोखिममा परेका अनुवादकहरूलाई सुरक्षित स्थानमा लग्ने योजना अमेरिकाले बनाएको हो ।
जुलाई महिनाको अन्तिम साताबाट उनीहरूलाई सार्ने काम थालिनेछ, ह्वाइट हाउसकी प्रेस सचिव जेन पिसाकीले बताइन् ।