राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने पुनः निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
यसअघि २०७४ सालमा राप्रपा समेतको सहभागिता रहेको देउवा सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने निर्णय गरेको उनले स्मरण गरे ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै लिङदेनले पुस २७ लाई राष्ट्रिय एकता दिवस मनाउने निर्णय गर्न माग गरेका हुन् ।
‘यसअघि राप्रपा समेत सहभागी सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको थियो । यसअघि गएको सरकारले आउनासाथ सो निर्णय खारेज गर्यो । आगामी दिनमा पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस मनाउने निर्णय गर्नेछ भन्ने अपेक्षा छ,’ लिङदेनले भने ।
राप्रपा सांसद लिङदेनले विगतका गल्ती नदोहोर्याउन सुझाव दिए ।
‘यसअघिको सरकारले पहिलो बजेट ल्याउँदा मैले भनेको थिएँ, सरकाले आफू पर्ने खाल्डो आफैँ खन्यो । यो सरकारले त्यो गल्ती नगरोस्,’ उनले भने ।