काठमाडौं, २७ जेठ- दोस्रो चरणको स्थानीय चुनाव नजिकिँदै जाँदा संविधान संशोधनलगायत माग राखेर चुनावमा नजाने अडान राख्दै आएको राष्ट्रिय जनता पार्टी नेतृत्व चुनावमा जानेबारे आश्वस्त भइसकेको देखिँदैन ।कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रको प्रमुख कार्यकारी नियुक्त भएको तीन दिन बितिसक्दा पनि राजपा नेतृत्वसँग सरकारले ठोस र निर्णायक वार्ता र सहमति प्रयाससमेत गर्न सकेको छैन । राजपाले चुनावमा जान कम्तीमा तीन विषयमा आश्वस्त बन्न चाहेको छ- संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तह निर्धारण र १३ महिने आन्दोलनमा आन्दोनलकारीमाथि लागेको मुद्दाको खारेजी, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सरकारले राजपालाई पार्टी दर्ता र चुनाव चिह्नबाहेक अन्य कुनै पनि माग पूरा गराउने विषयमा निश्चिन्त पार्न सकेको छैन । एकाएक प्रधानमन्त्री देउवाले व्यवस्थापिका संसद्को शुक्रबार बसेको बैठकमा सम्बोधन गर्दै संविधान संशोधन चुनावपछि गर्ने अभिव्यक्ति दिएपछि राजपासँग झनै दूरी बढेको छ ।
प्रधानमन्त्री देउवा राजपासँग भएको भद्र सहमतिअनुसार जारी संसद्बाट संविधान संशोधन नगरी असार १४ गते हुन गइरहेको चुनावका लागि भन्दै शुक्रबारबाटै संसद् १८ गतेसम्मका लागि स्थगन गर्न खोजेको जानकारी स्रोतले दियो । स्रोतले भन्यो, 'शुक्रबार बिहानै सत्ता पक्षका वार्ता टोली नेता विमलेन्द्र निधिले राजपाका नेताले तत्काल वार्ता चाहेको सन्देश प्रधानमन्त्रीलाई दिँदा देउवाले चुनावका लागि संसद् १८ गतेसम्म बन्द गर्छु अनि वार्ता हुने जानकारी दिएका थिए ।
तत्कालै निधिले देउवालाई संसद् बन्द गरेपछि वार्ताको औचित्य सकिने हुँदा आइतबार मात्र संसद् बन्द गर्न सुझाब दिएका थिए ।