२२ जेठ २०८३, शुक्रबार

छविराज ओझाकी प्यारी नायिकाः लभ परेको जस्तो लागिराछ, तर स्योर छैन

कात्तिक २०, २०७४
छविराज ओझाकी प्यारी नायिकाः लभ परेको जस्तो लागिराछ, तर स्योर छैन

काठमाडौं — फिल्म ‘लोफर’ बाट चलचित्रको रंगीन दुनियाँमा प्रवेश गरेकी अभिनेत्री रजनी केसीलाई ‘लोफर’ ले भन्दा चलचित्र ‘परदेशी’ ले सफलता दिलायो । चलचित्र ‘परदेशी’ मा सोझी गाउँले युवतीको भूमिका निर्वाह गरेकी यी नायिकाले परदेशीबाट शहरमुखी दर्शकभन्दा गाउँतिर बढी फ्यान कमाइन् ।

तिनै रजनी फेरि एकपटक दिलीप रायमाझीले अभिनय गरेको चलचित्र ‘रमिता’ मा गाउँले युवतीका रूपमा देखिँदैछिन् । केही समयअघि मात्र शूटिङ सकिएको उक्त चलचित्रमा अभिनेता रायमाझीसँगै केसीलाई पनि मुख्य भूमिकामा देखिनेछ ।

चलचित्र ‘परदेशी’ मा रजनीको भूमिकालाई पर्वतको कथ्य भाषामा आधारित बनाएर निर्माण गरिएको चलचित्र ‘रमिता’ ले ओझेलमा पार्छ कि पार्दैन भन्ने विश्लेषण रंगवृत्तमा हुन थालेको छ ।

रजनी भने ‘परदेशी’मा आफूले निर्वाह गरेको भूमिकालाई अब अरू फिल्मले नजित्ने तर्क गर्छिन् । ‘परदेशीमा मेरो भूमिकालाई दर्शकले यति धेरै मन पराइदिनुभएको रहेछ कि, दर्शकलाई त्यसपछि मैले अभिनय गरेका चलचित्रको नामसमेत याद नहोला’, उनले भनिन् ।

पछिल्लो समय हास्य टेलिचलचित्र ‘टेन टु फाइभ’ मा समेत उनले अभिनय गरेकी छन् । सोही टेलिचलचित्रमा उनले ‘कार्यक्रम संयोजक’को भूमिका पनि निर्वाह गरिरहेकी छन् ।

‘टेन टु फाइभ हाम्रो आफ्नै फ्यामिली प्रोजेक्ट हो, भ्याएको बेलामा मैले पनि अभिनय गरिरहेकी छु,’ रजनी भन्छिन्, ‘केही दिनअघि पर्वतमा सिनेमाको शूटिङ हुँदा म थिइनँ । अहिले छु ।’

फार्मेसीकी विद्यार्थी रजनीले फार्मेसीलाई भन्दा किन अभिनयलाई रोजिन् त ? उनी भन्छिन्, ‘मैले कहिल्यै पनि सिने क्षेत्रमा आउँछु भनेर सोचेकी थिइनँ, लोफरमा काम गर्न पाउनु पनि मेरा लागि एउटा संयोग थियो ।’

निर्माता छविराज ओझाले चलचित्र लोफरको लागि फोटोजेनिक नायिकाको खोजी गरिरहेका थिए । रंगवृत्तमा रहेका नायिकाहरूलाई नियालिरहेका उनले एउटा विज्ञापनमा देखिएकी रजनीलाई नायिका बन्ने अफर गरे । त्यसको एक वर्षपछि उनी सो चलचित्रमा जोडिइन् ।

कुनै चलचित्रमा इंगेज नभएपनि उनको आजभोलि दैनिकी व्यस्त नै बनेको छ । ‘फुर्सद हुँदा किताब पढ्न र घुम्न रुचाउँछु । डान्सका लागि विदेशमा कार्यक्रम भइरहन्छ ।’

उनलाई उत्प्रेरणा दिने कर्ण शाक्यका पुस्तक पढ्न रमाइलो लाग्छ । आफूलाई लभ स्टोरी पनि उस्तै मन पर्ने बताउँदै केसी थप्छिन्, ‘सुबिन भट्टराईको समर लभ र साया पढ्दा त म धेरैपटक रोएकी छु ।’

प्रेमकथाले निथ्रुक्कै भिजाएपनि आफू भने प्रेममा नपरेको रजनी बताउँछिन् । ‘स्क्रीनमा सलमान खान देख्दा लभ पर्छ,’ उनले हाँस्दै सुनाइन्, ‘अहिले कसैसँग लभ परेको हो कि जस्तो लागिराछ । तर स्योर छैन ।’

अबको बाँकी समय पनि सिनेमा क्षेत्रमै बिताउने उनको योजना छ । नेपाली सिनेमाले लगानी उठाउन गाह्रो भइरहेको अवस्थामा उनी भने निर्माताकै रूपमा सिनेसंसारमा रम्न चाहेको बताउँछिन् ।

‘राम्रो सिनेमा बनायो भने घाटा हुँदैन । लगानी त उठाइहालिन्छ नि,’ उनले भनिन्, ‘सिनेमामा अभिनयको अनुभव बटुलें, आफ्नै सिनेमा बनाउँदा कस्तो हुँदोरहेछ भन्ने अनुभव लिन मन छ अब ।’

फार्मेसीको प्रमाणपत्र भएपनि आफू अहिले औषधि व्यापार गर्ने सोचमा नरहेको उनले बताइन् । उनको तत्काल सिनेमा निर्देशन गर्ने योजना पनि छैन ।

भन्छिन्, ‘अझै मैले सिनेमाक्षेत्रमा धेरै नै सिक्न बाँकी छ । निर्देशन गर्न त मेरो दिमागले भ्याउँदैन ।’

salt training

कमेन्ट गर्नुहोस्