माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
साउन ११, २०७८
२०५० सालपछि माधव नेपाल सधैँ राजनीतिको केन्द्रमा रहे । करीब १५ वर्ष एकलौटी रूपमा पार्टीको नेतृत्व गरे ।
२०६४ मा भएको निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट पराजित भएपछि राष्ट्रिय राजनीतिमा उनको ओझ केही घट्न सक्ने आंकलन थियो । तर, समय त्यस्तो रहेन । दुई ठाउँबाट निर्वाचन हारेका व्यक्ति पनि संविधानसभाको संवैधानिक समितिको सभापति र पछि त प्रधानमन्त्री नै नियुक्त भए ।
करीब तीन दशकयता कहिले सत्तामा त कहिले बाहिरै बसेर पनि राजनीतिको केन्द्रमा रहेका एमालेका वरिष्ठ नेता माधव नेपालले अहिले जसरी आफ्नो व्यक्तित्व प्रदर्शन गरिरहेका छन्, उनको विगत भने त्यस्तो छैन ।
यसअघि उनको प्रमुख राजनीतिक विशेषता थियो– ढुलमुले नीति । स्पष्ट अडान राख्न नसक्ने नेता भनेर उनले निकै आलोचना झेले । तर, उनी आफैँ भने समन्वयकारी भूमिका निर्वाह गर्ने गरेको तर्क गर्थे । सबैको कुरा सुन्नुपर्ने र सबैलाई मिलाउनुपर्ने भएकाले पनि त्यस्तो देखिएको हुनसक्ने उनको तर्क हुन्थ्यो ।
तर, नेकपा एमालेको आन्तरिक विवादमा अहिले उनले जसरी जब्बर रूपमा अडान राखेका छन्, त्यसलाई हेरेर धेरैले भन्न थालेका छन्– माधव नेपाल फेरिएछन् ।
संसदीय समितिमा सांसद नारदमुनी राणालाई गरेको व्यवहारपछि त उनकै समूहका नेताले पनि भन्न थालेका छन्, अब माधव नेपाल पहिले जस्ता रहेनन् ।
माधव नेपाल फेरिएका हुन् वा होइनन् भन्ने निष्कर्षमा पुगिहाल्नु अघि करीब तीन दशकको अवधिका उनको राजनीतिक आरोह अवरोहको चर्चा गरौं ।
जननेताको छवि स्थापित गरेका नेता मदन भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गामा निधन भएपछि नेकपा एमालेको बागडोर माधव नेपालको काँधमा आयो । त्यसपछिका १५ वर्ष उनले अविच्छिन्न रूपमा एमालेलाई महासचिवको रूपमा नेतृत्व दिए ।
२०५२ सालबाट माओवादीले सशस्त्र आन्दोलन शुरू गर्यो । २०५४ सालमा एमाले विभाजन भयो । माधव नेपाल र केपी ओलीहरूले महाकाली सन्धिको समर्थन गरे भने वामदेव गौतम, सहाना प्रधानहरूले त्यसको विरोध गरे ।
अन्ततः गौतम र प्रधानहरूले नेकपा माले गठन गरे । २०५६ को निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि नेकपा मालेका धेरै नेताहरू फेरि एमालेमै फर्किए । त्यतिबेला पनि माधव नेपाल राजनीतिको केन्द्रमै थिए ।
माओवादीले सशस्त्र आन्दोलन चर्काउँदै लगेको थियो । यता संसद् र सरकारमा रहेका दलहरूको राजनीतिक किचलो, संसदीय विकृति घिनलाग्दो बनिरहेको थियो ।
सांसद किनबेचका अनेक किस्साहरू सुनिन्थे । कुनै पनि राजनीतिक दलले लामो समय सरकार सञ्चालन गर्न सकेका थिएनन् ।
नेपालको ढुलमुले नीति
सरकार बनाउने र हटाउने खेलमा एमालेको सहभागिता पनि रोचक नै थियो । त्यसबेला उनैलाई व्यंग्य गर्नुपर्दा प्रयोग हुने उनकै एउटा वाक्य थियो– एमाले न त सरकारमा जान हतारिएको छ, न त ढिलो गर्ने पक्षमा नै छ ।
उनकै यो वाक्यले बताउँथ्यो, माधव नेपाल स्पष्ट अडान सहितको निर्णयमा अडिग रहन सक्ने व्यक्ति होइनन् । उनी चाँडै कन्भिन्स हुने र निर्णय परिवर्तन गरिहाल्ने स्वभावका व्यक्ति हुन् । नेपालको यही चरित्रका कारण प्रतिस्पर्धी दलका नेताहरूले एमालेलाई व्यंग्य गर्नुपर्दा ‘लिंग नछुट्टिएको दल’ भन्ने गर्दथे । त्यतिबेला, आक्रामक शैली र जब्बर स्वभाव माधव नेपालको परिचय थिएन ।
अडान नभएको नेताभन्दा उनी जति रिसाउँछन्, समन्वयकारी नेताभन्दा त्यसको दोब्बर खुशी हुन्छन् । समन्वयकारी नेताको छवि बनाउन खोज्दा उनी आफैँ भने सधैँ अरूको प्रतिछायाँमा परिरहेका थिए ।
२०५८ सालमा राजदरबार हत्याकाण्ड भयो । राजा वीरेन्द्रको परिवारका सबै सदस्य मारिए । ज्ञानेन्द्र राजा घोषित भए । उनले उच्चस्तरीय छानबिन आयोग बनाए । त्यसमा माधव नेपाललाई पनि सदस्य राखे । शुरूमा माधव नेपाल आयोगमा बस्न राजी थिए । तर, चौतर्फी विरोध भएपछि आयोगमा नबस्ने भनिदिए ।
पछि आएर ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट हटाए । राजनीतिक दलहरूले प्रतिगमन भयो भनेर आन्दोलन गरे । पछि फेरि देउवा प्रधानमन्त्रीमा नियुक्त भए । प्रतिगमन आधा सच्चियो भनेर एमालेलाई सरकारमा सहभागी गराउने निर्णय पनि नेपालले नै गराए ।
तत्कालीन राजा ज्ञानेन्द्रले ‘स्वच्छ छवि’ भएका व्यक्ति प्रधानमन्त्री नियुक्त हुन आऊ भनेर सार्वजनिक रूपमा दरखास्त आह्वान गरे । माधव नेपाल पनि दरखास्त हाल्न गए । यो घटनाले अहिले पनि माधव नेपाललाई बिझाउने गरेको छ ।
एउटा शसक्त राजनीतिक दलको लामो समय नेतृत्व गरेका नेपाल राम्रो डिफेन्डर त बने तर स्ट्राइकरको रूपमा कहिल्यै स्थापित हुन सकेनन् । राजनीतिक खेल राम्रो खेल्थे तर, गोल भने सधैँ अरूले नै गरिरहन्थ्यो ।
महत्त्वपूर्ण काम तर, छायाँमा परे नेपाल
देशमा माओवादीको सशस्त्र संघर्षको दबदबा बढिरहेको थियो । राजाले शासनसत्ता हातमा लिएका थिए । माओवादीलाई संवादमार्फत राजनीतिक मूल धारमा ल्याउने कि सशस्त्र रूपमै दमन गर्ने भन्ने द्विविधामा राजनीतिक दलहरू थिए । उनले सबैभन्दा पहिला पार्टीमा देशलाई गणतन्त्र बनाउने निर्णय गराए । एमालेले निर्णय गरेपछि मात्रै कांग्रेसले पनि गणतन्त्रको बाटो समातेको थियो ।
त्यति नै बेला राजा ज्ञानेन्द्रको सत्तामोह चरमोत्कर्षमा थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेर राजा ज्ञानेन्द्रले आफ्नै नेतृत्वमा मन्त्रिपरिषद बनाए, अनि कार्यकारी भूमिकामा पदार्पण गरे । कतिपय नेताहरू गिरफ्तार भए भने कतिपय घरमै नजरबन्दमा राखिए ।
त्यसबेलाका सात राजनीतिक दलले राजाको कदमविरूद्ध निर्णायक आन्दोलन शुरूआत गरे । सात दलीय मोर्चाको नेतृत्वमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला थिए । मोर्चाका दोस्रो कमाण्डर थिए, माधव नेपाल ।
त्यसअघि नै उनले पार्टीमा निर्णय गरेर नेताहरू वामदेव गौतम र युवराज ज्ञवालीलाई माओवादीसँग वार्ता गर्न पठाए । नेपाल आफैँले पनि भारतको लखनउ र सिलगुढी पुगेर माओवादीका नेताहरूसँग वार्ता गरे ।
यिनै प्रयासस्वरूप माओवादी र राजनीतिक दलहरू बीचमा १२ बुँदे सहमति भयो । राजा विरुद्धको आन्दोलनमा माओवादीको पनि अप्रत्यक्ष सहभागिता रह्यो ।
२०६२/६३ को जनआन्दोलनले सफलता पायो । त्यही आन्दोलनले नेपालले गणतन्त्र ल्यायो । माओवादी शान्ति प्रक्रियामा आयो । सरकार र माओवादीको बीचमा शान्ति सम्झौता भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हात झड्कारे । माधव नेपाल भने साक्षीका रूपमा किनारामा मात्रै सीमित भए ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने प्रयासमा आफूले गरेको योगदानको कसैले चर्चा नगर्दा बेलाबेला उनले गुनासो गर्ने गरेका छन् । बेला बखतको भाषण र कुराकानीमा नेपालले यो विषय उप्काएका पनि छन् । माधव नेपालको त्यही मनोविज्ञान बुझेर होला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजकल भाषणका क्रममा शान्ति प्रक्रियामा माधव नेपालको भूमिकाबारे बखान गर्न छुटाउँदैनन् ।
चुनाव हारेका प्रधानमन्त्री
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा संविधान सभाको पहिलो निर्वाचन हुने भयो । माओवादीले एमालेसँग निर्वाचनमा तालमेलको प्रस्ताव राख्यो । तर, नेपालहरूले भनिदिए– काठमाडौं, ललितपुर र भक्तपुरको १० निर्वाचन क्षेत्रमा एमाले एक्लैले जित्छ, ११ औं स्थानमा भए तालमेल गरौं । त्यही निर्वाचनमा माधव नेपाल रौतहट र काठमाडौंको दुवै निर्वाचनमा हारे ।
नेकपा एमालेले जम्मा ३३ सिटमा मात्रै चित्त बुझाउनुपर्यो । देशभर माओवादीको तामझाम थियो । विद्रोह गरेर आएको पार्टीप्रति मतदाताको आकर्षण पनि देखियो । कतिपय स्थानमा माओवादीले तर्साएरै पनि चुनाव जिते । निर्वाचनमा शर्मनाक हार बेहोरेपछि नेपालले पार्टी महासचिवबाट राजीनामा घोषणा गरे ।
को कल्प वृक्ष, को विष वृक्ष ?
चुनाव जितेर आएको माओवादीले एमालेसँगको गठबन्धनमा सरकार बनायो । २०६५ भदौमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भए । माधव नेपाल संविधान सभामा नभई नहुने व्यक्ति भनेर प्रचण्डले उनलाई मनोनित गर्ने प्रस्ताव गरे । नेपाल आफैँले दाहालले प्रस्ताव अस्वीकार गरे । पछि दाहालले नेकपा एमालेलाई पत्र नै लेखेर नेपाललाई संवैधानिक समितिको सभापति बनाउने भनेपछि एमालेले नेपाललाई मनोनित संविधान सभा सदस्य बनाउने निर्णय गर्यो । नेपाल मनोनित भएर संवैधानिक समितको सभापति भए ।
प्रधानसेनापति प्रकरण (रुक्माङ्गत कटुवाललाई विस्थापित गर्ने प्रयास)मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले साथ नदिएपछि प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिनुपर्यो । माओवादी नेतृत्वको सरकार नौ महिनामै ढल्यो । त्यसबेलाका एमाले अध्यक्ष झलनाथ खनालले पनि माओवादीलाई बलियो साथ दिएनन् ।
त्यसपछि, एमाले र कांग्रेसले सरकार बनाउने भयो । संसद् र संविधान सभाको सबैभन्दा ठूलो दल प्रतिपक्षमा पुग्यो । माधव नेपाल प्रधानमन्त्री नियुक्त भए ।
प्रधानमन्त्रीको कुर्सी खुस्किएका प्रचण्डले बानेश्वरमा आमसभा आयोजना गरेर माधव नेपाल नेतृत्वको कठपुतली सरकार भनिदिए । भारतले आफ्नो सरकार विस्थापन गरेको र नेपाल नेतृत्वको कठपुतली तयार पारेको उनको आरोप थियो । प्रचण्ड त्यतिमै रोकिएनन् । भारतीयहरूलाई ‘प्रभु’को संज्ञा दिएर सिधै प्रभुसँग वार्ता गर्ने घोषणा गरे ।
प्रचण्ड र नेपालबीच पानी बराबरको स्थिति सिर्जना भयो । नेपालले माओवादीको आन्दोलन तुहिने घोषणा गरे । माओवादीले भने नेपाल नेतृत्वको सरकारलाई घुँडा टेकाउने दाबी गरेको थियो । अन्ततः माओवादीले आन्दोलन फिर्ता लिनुपर्ने अवस्था आयो । यसमा नेपाल सफल देखिए ।
आफूले माधव नेपालाई कल्पवृक्ष सम्झेर संविधान सभामा मनोनित गरेको, तर विषवृक्ष भएर निस्केको व्याख्या गर्दै प्रचण्डले नेपाल नेतृत्वको सरकारविरूद्ध देशव्यापी आमहड्ताल घोषणा गरेका थिए । नेपालले पनि माओवादीको जस्तोसुकै आन्दोलनको सामना गर्ने प्रतित्युतर दिएका थिए । अन्ततः माओवादीले गरेको आमहड्ताल ६ दिन मात्रै टिक्न सक्यो । नेपाल नेतृत्वको सरकार माओवादी आन्दोलन दबाउन सफल भयो । नेपालले १८ महिना सरकारको नेतृत्व गरे ।
माधव नेपालको राजीनामापछि माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका बीचमा संसद्मा प्रधानमन्त्रीका लागि १७ पटक मतदान भयो । तर, प्रधानमन्त्री चयन हुन सकेन ।
त्यही कारण नेपालले लामो समय कामचलाउ प्रधानमन्त्रीका रूपमा काम गरे । त्यसबेला उनले माओवादीका लडाकू व्यवस्थापनमा प्रभावकारी काम गरे । क्यान्टोनमेन्टमा रहेका हतियार र माओवादी लडाकुहरूको सफल व्यवस्थापन माधव नेपाल नेतृत्वकै सरकारको पालामा भएको थियो ।
नेपालपछि एमालेबाटै झलनाथ खनालले माओवादी समेतको समर्थनमा सरकारको नेतृत्व गरे ।
बेलाबखत माधव नेपाललाई राष्ट्रपति बनाउने राजनीतिक चर्चा पनि हुने गरेको थियो । तर, नेपालले भने आफूलाई कार्यकारी पदमै रूचि रहेको प्रतिक्रिया दिने गरेका थिए । एमालेको नवौं महाधिवेशनमा माधव नेपाल र केपी ओलीले पार्टी अध्यक्षका लागि प्रतिस्पर्धा गरे । केपी ओली नेपालभन्दा ४३ मतले अघि रहँदै विजयी भए । पदाधिकारीमा लगभग बराबरीजस्तो अवस्था रह्यो ।
अब पार्टीको सम्पूर्ण बागडोर ओलीको हातमा गयो । नेपाल विस्तारै छायाँमा पर्न थाले । पार्टीको संसदीय दलमा पनि ओलीकै दबदबा रह्यो । संविधान निर्माणको कामलाई अघि बढाउन ओलीले मेहनत गरे । ०७२ मा संविधान घोषणा भएपछि ओली नै प्रधानमन्त्री भए । तर, उनी नेतृत्वको सरकार पनि नौ महिनाभन्दा बढी चल्न पाएन ।
२०७३ को निर्वाचनमा ओलीले माओवादीसँग पार्टी एकता गर्ने भन्दै चुनावमा पनि कार्यगत एकता गरे । संघीय संसद्मा एमालेले १२१ सिट जित्यो । माओवादीले ५३ सिट जित्यो । दुई दलले सरकार बनाए । फेरि ओली प्रधानमन्त्री भए । पार्टी र सरकारमा ओलीले एकलौटी गर्न थालेपछि नेपालले आफूलाई माइनस गरेको अर्थमा बुझे । केही समय दुई अध्यक्षको रजगज चल्यो ।
नेपाल टाढाका दर्शकमा मात्रै सीमित भए । प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाने बेलामा नेपालले स्वास्थ्यलाभको कामना गर्दा समेत ओलीले तपाईंको शुभकामना चाहिँदैन भनिदिए । यसले ओली र नेपालको दूरी क्रमशः टाढिएको बुझ्न सकिन्थ्यो । त्यति मात्रै होइन, बालुवाटार जग्गा प्रकरणमा ओलीले आफ्नो राजनीतिक करिअर नै सिध्याइदिन खोजेको नेपालले बुझे ।
विस्तारै ओली र प्रचण्डको पनि कुरा मिल्न छाड्यो । प्रचण्डलाई कसैको साथ चाहियो । माधव नेपालले त्यसैलाई मौकाको रूपमा प्रयोग गरे । ओलीलाई साइजमा ल्याउने र आफ्नो हैसियत देखाइदिने आधार नेपालले यसैलाई बनाए ।
बेलाबेला उनले भन्ने गरेका छन्, ‘माधव नेपाल चानचुने मान्छे होइन । राजासँग पनि जुधेर आएको मान्छे हो ।’
साउन ८ गतेको एउटा कार्यक्रममा त उनले भनिदिए, ‘हामी विशेष धातुले बनेका मान्छे हौं । स्टालिनले भनेका छन्, कम्युनिस्टहरू विशेष धातुले बनेका हुन्छन् । माधव नेपाल तर्साएर तर्सिने मान्छे हो ? कस्ता कहाँ गए, कोही तर्सिनेवाला छैन ।’
पछिल्लो केही समययता माधव नेपालको जब्बर अडान देख्दा उनी नतर्सिने र नझुक्ने चट्टानी अडानमा छन् । यसअघिको ढुलमुले नीति फेर्ने र आक्रामक शैली अपनाउने नीति लिएका छन् । आक्रामकताको उदाहरण उनले १० साउनमा संसदीय समितिको बैठकमा देखाइसकेका छन् ।
सांसद नारदमुनी राणालाई प्रतिगमनको मतियार भन्दै उनले जवाफी आक्रमण गरे । सार्वजनिक स्थानमा नेपालको यस्तो आक्रामक प्रस्तुति शायदै देखिएको थियो । यी उदाहरण र उनका व्यवहारले देखाउँछ, माधव नेपालले आफ्नो छवि क्रमशः रिमेक गर्दैछन् ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...