
जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले सोमबार बहुमत कार्यकारिणी सदस्यले गरेको सनाखतको आधारमा उक्त निर्णय गरेको हो।
यस्तै आयोगले महन्थ ठाकुर पक्षलाई रीत पुर्याएर कानुन अनुसार नयाँ दल दर्ता गर्न पाउने प्रावधान समेतको आदेश गरेको छ। ५१ जना कार्यकारिणी समिति सदस्य मध्ये ३४ जना उपेन्द्रको पक्षमा र १६ जना महन्थको पक्षमा सनाखत गरेका थिए भने रेशम चौधरी तटस्थ बसेका थिए।
जसपाको आधिकारिकता उपेन्द्र समूहले पाए पछि नयाँ राजनीतिक दल दर्ता गर्ने वा यादव सामु झुकेर आत्मसमर्पण गर्नु बाहेक ठाकुर समूहसँग अर्को विकल्प छैन।
ठाकुर समूहको बैठकमा मनिष सुमनको त्यो प्रस्ताव
जसपामा नेता राजेन्द्र महतो निकट मानिने मनिष सुमनले पनि उपेन्द्र यादवको पक्षमा सनाखत गरेका छन्। एकपछि अर्को कार्यकारिणी सदस्य तथा सांसदहरू उपेन्द्र पक्षमा लागिरहेको बेला आइतवार ठाकुर समूहको कार्यकारिणी समितिको बैठक पार्टी कार्यालय बबरमहलमा बोलाइएको थियो। उक्त बैठकमा मनिष सुमनले दल आधिकारिकताको निवेदन दिएका उपेन्द्रको पक्षमा नै सबै सदस्यले सनाखत गरौँ भन्ने प्रस्ताव राखेका थिए। दलको आधिकारिकता सम्बन्धी दावी उपेन्द्रले मात्र गरेको हुनाले सबै जना गएर उपेन्द्रको पक्षमा सनाखत गरौँ भनेर उनले प्रस्ताव राखेका थिए। दलको आधिकारिकता उपेन्द्रले पाए पनि विधान अनुसार नै दल संचालन हुने हुनाले दलको विधानमा दुई जना अध्यक्ष रहेको कुरालाई उपेन्द्रले पनि मान्नै पर्ने बाध्यात्मक अवस्थाबारे उनले स्मरण गराएका थिए।

'दलको आधिकारिकता उहाँले पाए पनि दल संचालन गर्न तथा दलको निर्णय गर्नका लागि दुई अध्यक्षले निर्णय गर्ने भनेर उल्लेख भएको तर्क मैले गरें,' सुमनले लोकान्तरसँग भने,'यसअघि निर्वाचन आयोगले नै २०७८ जेठ २ गते गरेको आदेशमा पनि जसपाको विधानमा दुई अध्यक्ष रहने तथा दुई अध्यक्षको सहमति बेगर कुनै निर्णय हुन नसक्ने भनेर गरेको आदेशलाई आधार बनाएर जानु पर्छ भनेर मैले भनें।'
जसपामा न त ठाकुरले उपेन्द्र यादवलाई निष्कासन गर्न सक्छन् न त यादवले ठाकुरलाई निष्कासन गर्न सक्छ भनेर निर्वाचन आयोगले जेठ २ गते नै निर्णय गरेको थियो।
५१ जना कार्यकारिणी नै सर्वेसर्वा हो, दुई अध्यक्ष बस्नै पर्ने हुन्छ भन्ने कुरामा आयोगले गरेको उक्त फैसलातर्फ ध्यान दियौँ भने स्थानीय तहदेखि संघ सम्मका ३ सय भन्दा बढी प्रतिनिधिको पद जोगाउन सकिन्छ भनेर प्रस्ताव गरेको सुमनले बताए।
'हामी कुनै अन्य पार्टीमा त गइरहेका छैनौं, जसपामैं बस्ने हो त्यस कारण अहिले तत्कालको लागि उपेन्द्र पक्षमा सनाखत गरेनौं भने यहाँ केन्द्रमा मात्र होइन, प्रदेशदेखि स्थानीय तहसम्म सयौं निर्वाचित पदाधिकारीको पद गुम्न सक्छ। त्यस्तो अवस्थामा यदि भोलि हामी नयाँ पार्टी नै दर्ता गरेर गयौं भने माथिदेखि तलसम्म कुनै पनि निर्वाचित प्रतिनिधि हामीसँग आउने छैनन् भनेर तर्क राखेको थिएँ', उनले बताए।
'भोलि यदि नयाँ दल दर्ता गरेर गएको अवस्थामा स्वतः राजनीतिक दल त्याग गरेको अवस्थामा सबैको पद स्वतः गुम्ने हुनाले कुनै पनि नेता तथा कार्यकर्ता आउने अवस्था रहन्न,' सुमनले लोकान्तरसँग भने,'त्यसैले अहिले हामी जसपाको समर्थनमा उपेन्द्रको पक्षमा तत्काल सनाखत गरौँ, विधान संशोधन महाधिवेशनबाट मात्र हुने हुनाले विधान अनुसार ठाकुरजी पनि अध्यक्ष रहने प्रावधान रहेकाले त्यस्तो आत्मघाती गल्ती नगरौं भनेको थिएँ।'
सुमनको उक्त प्रस्तावमा जसपाका नेता लक्ष्मणलाल कर्णले पनि समर्थन गरेका थिए। सुमनकै अनुसार उक्त बैठकमा दबिएको स्वरमा अर्को कार्यकारिणी सदस्य केशव झाले पनि समर्थन जनाएका थिए। 'यो मेरो विचार त होइन तर मलाई पनि तलबाट यस्तै किसिमको रिपोर्टिगं आएको छ कि नयाँ दल दर्ता गर्यौं भने पदमा बहाल रहेका कुनै पनि प्रतिनिधि हामी सँग आउनेछैनन्, भनेर केशव झाले बताएको उनले लोकान्तरलाई बताए ।
तर जसपाका नेता राजेन्द्र महतो, शरत सिंह भण्डारी, बृषेशचन्द्र लाललगायतले तत्काल प्रतिवाद गरेका थिए।
राजनीति राजनीति हुन्छ, जहाँ कानूनको मात्र कुरामात्र हुँदैन, राजनीतिमा समर्पण गर्नु भनेको राजनीति सक्क्किनु हो भनेर राजेन्द्र महतोले जबाफ दिएका थिए। 'उपेन्द्र यादवको सामू हामी कुनै पनि किसिमले आत्मसमर्पण गर्दैनौं, जे पर्ला पर्ला, भोगौँला, नयाँ राजनीतिक दल दर्ता गरेर अगाडि बढौँला तर उपेन्द्र सामु कुनै पनि हालतमा झुक्नु हुँदैन भनेर राजेन्द्रजीले भन्नु भयो,' सुमनले भने।
महतोले सबैले ठाकुरकै पक्षमा सनाखत गर्नु पर्छ भन्ने अडान राखेको पनि सुमनले बताए ।
शरत सिंह भण्डारीले पनि राजनीतिमा आत्मसमर्पण गर्न नसकिने बताएका थिए। त्यसपछि ठाकुरले पनि 'त्यसो भए ठिकै छ, म कसैलाई ह्विप लगाउँदिन, जुन साथीलाई जसको पक्षमा सनाखत गर्नु छ गर्न सक्नु हुन्छ' भनेर जबाफ दिएका थिए। 'म कसैलाई कुनै पनि किसिमको दवाव दिन्नँ,सबै जना स्वतन्त्र हुनुहुन्छ, जसलाई जे गर्नुछ गर्नुस्, त्यो स्वतन्त्रता मैले दिन्छु भनेर ठाकुरजीले भन्नु भयो,' सुमनले भने।
बैठकमा आफ्नो प्रस्ताव अस्वीकृत भएपछि राजेन्द्र महतोलाई आज फोन गरेर नै आफू उपेन्द्रको पक्षमा सनाखत गर्न जाने बताएको सुमनले बताए।
शेरबहादुर देउवालाई विश्वासको मत दिँदा आत्मसमर्पण नहुने तर अहिले उपेन्द्रको पक्षमा सनाखत गर्दा कसरी आत्मसमर्पण हुन्छ भन्ने सुमनको प्रतिप्रश्न छ।
'विगतमा पनि राजपा त छँदै थियो तर चार वर्षसम्म महाधिवेशन गर्न सकिएन, दुई पानाको विधानसम्म बनाउन सकिएन,' सुमनले भने,'त्यसैले नयाँ पार्टी दर्ता गरेर संचालन गर्न सम्भव पनि छैन, पार्टी दर्ता गरे एक, दुई, तीन चल्दैन,' ठाकुर पक्षले आत्मघाती कदम चालेको उनको विश्लेषण छ ।