३२ असार २०८३, बिहीबार

संसद बैठकमा सांसदको प्रश्न : यो सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि ?

संसद बैठकमा सांसदको प्रश्न : यो सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि ?

प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले वर्तमान सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेकोप्रति आपत्ति जनाउँदै सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले आयोगलाई पुनर्जीवित गरेर लालपूर्जा वितरण प्रक्रिया अगाडि बढाउन माग गरे ।

उनले भने, ‘यो सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि ? ११ लाख फाइलहरू तयार भएका बसेका छन् । पूर्जा लिनका लागि सुकुम्बासी लालायीत छन् । यसै सदनले ऐन बनाएर भूमिका समस्या समाधान गर्न आयोग बनायो । त्यो आयोग यो सरकार बन्नेबित्तिकै खारेज भएको छ । के यो देशमा सुकुम्वासी पनि अन्त्य भएको हो कि सरकार बन्ने बित्तिकै ? आयोगलाई पुनर्जीवित गरियोस् र पूर्जा वितरण प्रक्रियालाई प्रारम्भ गरियोस् । यो देशभरिमा रहेको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु, पीडित जनतालाई अरु नूनचुक छर्ने काम नहोस् ।’

यस्तै, प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्रीफायर अनलाइन खेलहरू तत्काल बन्द गर्न माग गरेकी छन् । सांसद विकले यस्ता अनलाइन खेलले बालबालिका र अभिभावकमा मानसिक समस्याको संकेत देखिएको बताइन् ।

‘कोरोना कहरले थलिएको देशको बालबालिका र किशोरकिशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सिर्जना भएको छ,’ उनले भनिन्, ‘इन्टरनेट प्रयोगकर्ता बढेको छ, यो खुसी हो तर पब्जी र फ्रीफायर जस्तो खेलको लतमा फसेको उनीहरूमा देखिएको डराउने, झस्किने, जिद्दीपना जस्तो अनौठो बानीले बच्चाको स्वभावले आमाबुवामा परेको तनावको कारण निम्तिने रोगहरूको दृश्य सामान्य लाग्ला । तर पछि गएर मानसिक रोग अस्पतालको अभाव हुने संकेत देखिएकाले सरकारले तत्काल यो अनलाइन खेलहरू बन्द गरियोस्, नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराउँछु ।’

यस्तै, नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दू धर्ममाथि प्रहार हुने गरी ट्वीट गरेकोमा आपत्ति जनाएका छन् ।

बैठकमा बोल्दै सांसद साहले धर्मनिरपेक्ष देशमा सबै धर्मको सम्मान हुनुपर्ने बताए । बैठकमा उनले भने, ‘पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले रि–ट्विट गरेर धर्ममाथि प्रहार गर्नुभएको थियो । यो धर्मनिरपेक्ष देशमा सबै धर्मलाई इज्जत गर्ने र हुने हाम्रो धारणा हो । उहाँजस्तो व्यक्तित्वले त्यस्तो अभिव्यक्ति दिइसकेपछि हिन्दू धर्मावलम्बी आक्रोशित छन् । यस्तो टिकाटिप्पणी नआओस्, जोडदार माग गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्