
कोशी प्रदेश सरकारबारे निर्णय लिन नेपाली कांग्रेसको प्रदेशस्तरीय संयन्त्रको बैठक बसेको छ ।
कांग्रेस कोशी प्रदेश सभापति तथा दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता तथा सांसद अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायतको उपस्थिति छ ।
बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्ने सम्भावना छ ।
बैठकमा सरकारमा सहभागी रहेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार भने अनुपस्थित रहेका छन् ।
उनले आफू संयन्त्रको बैठकमा सहभागी नहुने बताएका छन् ।
स्रोतका अनुसार कांग्रेस सभापति गगन थापाले दिएको निर्देशन नमान्ने अडानमा मन्त्रीहरू रहेको दाबी गरिएको छ।
सरकारमा कांग्रेसका तर्फबाट पूर्वाधार मन्त्री सुनुवारसहित स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् ।
‘त्यो संयन्त्र बनाएको मलाई थाहा थिएन’, उनले लोकान्तरसँग भने, ‘अब के गर्ने भनेर छलफल गर्छौँ ।’