०९ साउन २०८३, शनिबार

अनिवार्य अवकाशको तीन साता अगाडि सचिव शर्माले किन दिए राजीनामा ?

साउन ८, २०८३
काठमाडौं
अनिवार्य अवकाशको तीन साता अगाडि सचिव शर्माले किन दिए राजीनामा ?

नेपाल सरकारका वरिष्ठ सचिव डा. गोविन्दप्रसाद शर्माले आफ्नो अनिवार्य अवकाशको निर्धारित मितिभन्दा करिब तीन साताअघि नै पदबाट राजीनामा दिएका छन् ।

साउन २४ गते अनिवार्य अवकाशमा जान लागेका शर्माले साउन १ गते नै राजीनामा बुझाएका थिए ।

उनको राजीनामा साउन ४ गतेदेखि नै लागू हुने गरी साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।

प्रशासनिक वृत्तमा हालै कनिष्ठ सचिव गोविन्दबहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरिएपछि वरिष्ठ सचिवहरूमा चरम असन्तुष्टि बढेको छ ।

यसअघि वरिष्ठतम् सचिव किरणराज शर्मा पनि बिदामा बसेर सेवानिवृत्त भइसकेका छन् । यसै शृङ्खलाका बीच कृषि तथा वन क्षेत्रका विशेषज्ञ मानिने डा. गोविन्द शर्माले पनि समयअगावै राजीनामा दिएका हुन् ।

मन्त्रालय गाभिएपछि जगेडामा तानिएका थिए शर्मा

वन तथा वातावरण मन्त्रालयका सचिवका रूपमा कार्य गरिरहेका शर्मालाई मन्त्रालयहरू समायोजन गर्ने क्रममा कृषि र वन मन्त्रालय गाभिएपछि जेठ २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त (जगेडा) समूहमा तानिएको थियो । त्यहाँ उनलाई उनको विशेषज्ञताभन्दा बाहिरको क्षेत्र अर्थात् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा समन्वयसम्बन्धी कार्यको जिम्मेवारी सुम्पिएपछि उनी असन्तुष्ट बनेका थिए ।

रिटायर हुनुअघि पद ओगटेर बस्न चाहिनँ: शर्मा

शर्माले मन्त्रालय छाड्ने बेलैमा आफूले राजीनामा दिने सोच बनाएको लोकान्तरसँग बताए । ‘मेरो साउन २४ गते अनिवार्य अवकाश (रिटायरमेन्ट) हुँदै थियो । यो बीचमा जगेडामा रहेर लामो समयसम्म काम गर्न मिल्ने अवस्था थिएन । मन्त्रालयलाई दीर्घकालीन रूपमा नेतृत्व गर्ने नयाँ जो हुनुहुन्छ, उहाँहरूले नै काम अघि बढाउने हो,’ शर्माले लोकान्तरसँग भने,  ‘त्यसैले साउन २४ गतेसम्म किन त्यो पद 'होल्ड' गरेर राखिरहने भन्ने ठानेर मैले पहिले नै यो निर्णय लिएको हुँ ।’

वरिष्ठ सचिवहरूको मान-सम्मान नभएर राजीनामा दिनुभएको हो भन्ने जिज्ञासामा उनले सिधै स्वीकार नगरे पनि घुमाउरो पाराले आफ्नो प्रतिबद्धता रहेको जनाए । उनले भने, ‘हैन, हैन... जे भए पनि मन्त्रालयबाट बाहिरिँदा नै मेरो यो प्रतिबद्धता थियो र शुरूदेखि नै मैले यही योजना बनाएको थिएँ ।’

आफ्नो राजीनामा प्रक्रियाबारे स्पष्ट पार्दै उनले भने, ‘मैले साउन १ गते नै राजीनामा पेस गरेको थिएँ । साउन ६ गतेको मन्त्रिपरिषद्​ बैठकले साउन ४ गतेदेखि नै लागू हुने गरी राजीनामा स्वीकृत गरेको हो ।’

निजामती सेवामा बढ्दो हलचल

सरकारले झण्डै साढे तीन दर्जन वरिष्ठ सचिवहरूलाई पन्छाएर कनिष्ठ सचिवलाई मुख्य सचिव बनाएपछि र मन्त्रालयहरूको पुनर्संरचनाका नाममा वरिष्ठहरूलाई प्रधानमन्त्री कार्यालयमा जगेडामा थुपार्ने नीति लिएपछि कर्मचारीतन्त्रभित्र असन्तुष्टि चुलिएको छ ।

डा. शर्माको राजीनामालाई निजामती प्रशासनभित्रको असन्तुष्टि र गिर्दो मनोबलको कडीका रूपमा प्रशासनिक विश्लेषकहरूले विश्लेषण गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्