
संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस शनिबार सिरियाको भ्रमणमा जाने भएका छन् ।
सन् २०११ मा गृहयुद्ध शुरू भएयता कार्यरत संयुक्त राष्ट्रसंघका महासचिवले सिरियाको भ्रमण गर्न लागेको यो पहिलो पटक हो ।
करिब १४ वर्ष लामो युद्धपछि सिरियामा आएको राजनीतिक परिवर्तनसँगै हुन लागेको गुटेरेसको भ्रमणलाई महत्त्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ ।
सन् २०२४ को अन्त्यमा विद्रोही समूहले तत्कालीन राष्ट्रपति बसर अल–असदलाई सत्ताच्युत गरेपछि सिरियामा इस्लामवादी नेतृत्वअन्तर्गत संक्रमणकालीन सरकार गठन भएको थियो ।
गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति अहमद अल–शारा, विदेशमन्त्री असाद अल–शैबानी, अन्य सरकारी अधिकारी तथा नागरिक समाजका प्रतिनिधिसँग भेटवार्ता गर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफान दुजारिकका अनुसार गुटेरेसले सिरियासामु द्वन्द्वबाट पुनःउत्थान मात्र होइन, स्थिर, समावेशी र समृद्ध भविष्य निर्माण गर्ने ऐतिहासिक अवसर रहेको सन्देश दिनेछन् ।
गुटेरेस केही दिन दमास्कसमै रहने अपेक्षा गरिए पनि भ्रमणको विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छैन ।
यो भ्रमण फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको सिरिया भ्रमणको केही सातापछि हुन लागेको हो । म्याक्रों बसिरहेको दमास्कसको होटलनजिकै दुईवटा बम विस्फोट भएपछि उक्त भ्रमण सुरक्षा चिन्ताबीच सम्पन्न भएको थियो ।
राष्ट्रपति अहमद अल–शाराको नेतृत्वमा रहेको नयाँ सरकारले करिब १४ वर्षको गृहयुद्ध र असद परिवारको दशकौं लामो शासनपछिको अन्तर्राष्ट्रिय एकान्तता अन्त्य गर्दै कूटनीतिक सम्बन्ध विस्तार गर्ने प्रयास गरिरहेको छ ।
तर संक्रमणकालीन अवधिमा दुईवटा ठूला सांप्रदायिक हिंसाका घटनाले सरकारको अल्पसंख्यक समुदायको सुरक्षा गर्ने प्रतिबद्धतामाथि प्रश्न उठाएको छ ।
गत वर्ष तटीय क्षेत्रमा सरकार समर्थक समूहबाट असद आबद्ध अलावी समुदायका करिब १,५०० जनाको हत्या भएको थियो भने केही महिनापछि दक्षिणी क्षेत्रमा ड्रुज समुदायका सयौं नागरिक मारिएका थिए ।
यी दुवै घटनाप्रति गुटेरेसले गम्भीर चिन्ता व्यक्त गर्दै दोषीलाई जवाफदेही बनाउन आग्रह गरेका छन् ।
अल–कायदासँग सम्बन्ध तोडेपछि सन् २०१६ देखि अलग राजनीतिक यात्रा थालेका अल–शाराले सन् २०२४ डिसेम्बरमा विद्रोही गठबन्धनको नेतृत्व गर्दै असद सरकारलाई सत्ताच्युत गरेका थिए ।
सत्तामा आएपछि उनले रूस र इरानमा सीमित रहेको सिरियाको कूटनीतिक सम्बन्धलाई विस्तार गर्ने प्रयास गरिरहेका छन् । गत वर्ष उनी सन् १९६७ पछि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने पहिलो सिरियाली राष्ट्रपति बनेका थिए ।
संयुक्त राज्य अमेरिकाले पनि सिरियामाथिका अधिकांश आर्थिक प्रतिबन्ध हटाइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना सिरियालाई आतंकवाद प्रायोजक राष्ट्रको सूचीबाट हटाउने तयारी रहेको जानकारी अल–शारालाई दिएका थिए ।
संयुक्त राष्ट्रसंघका अनुसार गुटेरेसले सोमबार सिरियाको नयाँ संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै, उनले दशकौंदेखि इजरायल र सिरियाली सेनाबीचको बफर जोनमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको पनि भ्रमण गर्नेछन् ।
असद सरकार पतनपछि इजरायली सेनाले दक्षिणी सिरियाका थप क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । सिरियाले ती क्षेत्रबाट इजरायली सेना फिर्ता हुनुपर्ने र सन् १९७४ को युद्धविराम सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएको छ ।