
नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगेको कुण्ठाबाट एमाले मुक्त हुन नसकेको आरोप लगाएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सत्ता बाहिर गएको कुण्ठाबाट प्रतिपक्ष मुक्त हुन नसकेको बताएकी हुन् ।
शून्य र विशेष समयमा बोल्ने एमाले सांसदहरूले वर्तमान सरकारलाई निर्दलीय भन्दै व्यंग्य गरेपछि कांग्रेस सचेतकले संसदमा प्रतिवाद गरेकी हुन् । ‘संविधान नमान्ने, अदालतको फैसला प्रभावित हुनेगरी संसदमा बहस भइरहेको छ । सत्ता बाहिर गएको कुण्ठाबाट प्रमुख प्रतिपक्षी दल मुक्त हुन नसकेको देखियो’ भुसालले भनिन् ।
उनले धैर्यधारण गरेर आफ्नो कुरा अगाडि बढाउन एमालेलाई सुझाव दिइन् । भुसालले यसअघिको सरकारले कोरोनाविरुद्धको दोस्रो डोज खोप उपलव्ध नगराएर मुलुकका वृद्धवृद्धालाई निराश बनाएको आरोप लगाइन् ।
त्यसअघि एमालेका लालबाबु पण्डितले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्दलीय प्रधानमन्त्री भन्दै व्यंग्य गरेका थिए ।