
तराईका जिल्लामा भ्यू टावर बनाउने होड चलेको छ । पर्यटकलाई आकर्षित गर्न भन्दै ३ वटै तहका सरकारले भ्यू टावरलाई महत्त्व दिएर बजेट विनियोजन गरेका छन् ।
मोरङको मिक्लाजुङ गाउँपालिका–३ रमितेमा भ्यू टावर निर्माण भइरहेको छ ।
१ करोडभन्दा बढी लागतमा निर्माण गर्न लागिएको भ्यू टावरको ४ तला निर्माण गर्दा ५२ लाख रुपैयाँ खर्च भइसकेको छ ।
भ्यू टावर निर्माण गर्न वडा कार्यालयको २० लाख, प्रदेश १ सरकारको २० लाख, निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० लाख र तत्कालीन टाडी गाविसको २ लाख रुपैयाँ खर्च भइसकेको मिक्लाजुङ गाउँपालिका–३ का वडाध्यक्ष खगेन्द्र मादेन लिम्बुले बताए ।
भ्यू टावर निर्माण भइसक्दा खोला उत्खनन् भइरहेका दृश्य, पुल निर्माणमा ढिलाइ भइरहेका दृश्य, खानेपानी थाप्न लाइनमा बसेका गृहिणीका दृश्य देखिने गरेका छन् । जंगलमा निर्माण गरिएको भ्यू टावरबाट बाख्रा चराइरहेको दृश्य देखिने गरेको छ ।
‘भ्यू टावर निर्माण भएकै क्षेत्रका जनता हिउँद लागेपछि पेटभर खानेपानी पाउँदैनन् । हिउँद शुरू भएपछि हाम्रा दुःखका दिन शुरू हुन्छ,’ स्थानीय लक्की खड्का भन्छिन्, ‘चुनावमा मात्रै हाम्रोमा खानेपानी आउने भयो, धारामा चाहिँ नआउने भयो । भ्यू टावरमा लगानी गर्ने जनप्रतिनिधिले पर्यटन प्रवद्र्धनका विषयमा सोच्न भ्याए पनि जनताको समस्यामा खासै चासो दिइएको पाइँदैन ।’

बेलबारी नगरपालिका–२ मा निर्वतमान पर्यटनमन्त्री भानुभक्त ढकालको पहलमा नै भ्यू टावर निर्माण भइरहेको छ । चालू आवमा ६० लाख रुपैयाँ बजेट मन्त्रालयले विनियोजन गरेर निर्माणको काम भइरहेको छ भने आगामी आवका लागि १ करोड रुपैयाँ बजेट मन्त्रालयले विनियोजन गरेको छ । केरावारी गाउँपालिका–२ को सिंहदेवीमा १ हजार १०० मिटरको उचाइँमा बनेको भ्यू टावर सञ्चालनमा रहेको छ ।
सरकारले कुन क्षेत्रमा लगानी गर्ने भन्ने योजना नहुँदासम्म उत्पादन नहुने क्षेत्रमा लगानी बढ्ने गरेको पर्यटन क्षेत्रका जानकार रामचन्द्र अधिकारी बताउँछन् ।