२४ असार २०८३, बुधबार

नेप्से हालसम्मकै उच्च विन्दुमा, बजार पूँजीकरण ४३ खर्ब नजिक

साउन १२, २०७८
नेप्से हालसम्मकै उच्च विन्दुमा, बजार पूँजीकरण ४३ खर्ब नजिक

नेपाल राष्ट्र बैंकले सोमवार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

मंगलवारको कारोबारपछि नेप्सेले नयाँ उचाइ कायम गरेको छ ।

बजार पूँजीकरण पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलवारको कारोबारपछि बजार पूँजीकरण ४२ खर्ब ८३ अर्ब ९४ करोड ३२ लाख ३० हजार बराबर पुगेको छ ।

बजार पूँजीकरण नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा धेरै माथि पुगेको छ । लगानीकर्ताको ध्यान मंगलवार विशेष गरी जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र जलविद्युत् उपसमूहको शेयरमा परेको नेप्सेको विवरणबाट देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २९.२४ विन्दुले बढेर ३ हजार ७९.६७ मा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु भएको हो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर ५७४.३० मा पुगेको छ ।

कूल २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये ४ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने ९ उपसमूहको शेयरमा वृद्धि भएको छ । केन्द्रीय बैंकले सोमवार बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गर्ने निर्देशिका जारी गरेपछि बैंकिङ २.६३ र लघुवित्त उपसमूहको शेयर ११६.६६ विन्दुले घटेको छ । व्यापार २.५७ र होटल तथा पर्यटन १८.७७ बिन्दुले ओरालो लागेको छ ।

विकास बैंक ३५.५७, जलविद्युत् ११९, वित्त ७१.०४, निर्जीवन बीमा १२०.२६, उत्पादन ३०५.१८, अन्य ६०.३४, जीवन बीमा २६०.०८, सामूहिक लगानी कोष ०.१३ र लगानी उपसमूहको शेयरमा ३.०५ विन्दुले बढेको छ । कारोबारका आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ ।

बैंकको ४९ करोड १५ लाख ५० हजार ७५५ बराबरको कारोबार भयो । अपिपावर कम्पनी ४८ करोड ३२ लाख १ हजार ४१४, युनाइटेड मोदी ३६ करोड २४ लाख ४० हजार ५३०, सानिमा माई हाइड्रोपावर ३५ करोड २८ लाख ५७ हजार ४९७ र नेशनल हाइड्रोपावर ३४ करोड ७७ लाख ८ हजार ५७० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रो पावर घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, जानकी फाइनान्स र युनिभर्सल पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो ।

सपोर्ट माइक्रोफाइनान्स ५.७७, उन्नति सहकार्य लघुवित्त ४.६८, जनउत्थान सामुदायिक लघुवित्त ४.०६, स्वाभिमान लघुवित्त ३.९६ र समता घरेलु लघुवित्तका लगानीकर्ताले ३.८१ प्रतिशतले गुमाए । 

salt training

कमेन्ट गर्नुहोस्