
कुनै पनि 'विजनेस' नभएकोले सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्तर्गतको नियमित बैठक असार २७ गतेयता बस्न सकेको छैन । गएको वैशाख २१ गते प्रदेशसभाको बजेट अधिवेशन शुरु भएको थियो । असार २७ गते बसेको प्रदेशसभाको बैठकपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको थियो ।
जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्थाका रूपमा स्थापित प्रदेशसभाको बैठक बस्न भएको ढिलाइसँगै प्रदेशका जनताको समसामयिक समस्या समाधानबारे छलफल हुन पाएको छैन । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले असार २७ गतेयता नयाँ कुनै पनि विधेयक दर्ता नभएको र समितिमा दफावार छलफलका लागि गएका विधेयकको छलफल नसकिएकाले बैठक बस्न ढिलाइ भएको बताए ।