अफगानिस्तानमा तालिबानले बिजुलीका पोलहरू उडाएपछि राजधानी काबुल अन्धकारमय बनेको छ ।
अफगान ऊर्जा कम्पनी डीबीएसका अनुसार, काबुल र देशका अन्य भागमा बिजुली छैन । तालिबानले बगलान प्रान्तमा बिजुलीका पोलहरू ध्वस्त पारेपछि यस्तो स्थिति उत्पन्न भएको हो ।
बगलानको किलिगाई क्षेत्रमा क्षतिग्रस्त भएको बिजुलीको लाइन मर्मत गर्न समस्या परिरहेको छ । उक्त क्षेत्रमा तालिबान र अफगान सेनाबीच लडाइँ जारी छ । त्यसले गर्दा बिजुली कम्पनीले इन्जिनीयर र कर्मचारी पठाउन पाएको छैन ।
तालिबानको नाकाबन्दीका कारण राजधानी काबुलमा खाद्यसामग्रीको अभाव देखिन थालेको छ ।
अफगानिस्तानबाट विदेशी सैनिकहरू हटेपछि हिंसा बढिरहेको छ । तालिबानले देशका ठूला ग्रामीण क्षेत्रहरूमा कब्जा गरेको छ र शहरहरूमा आक्रमण गर्न थालेको छ । कन्दहार। गजनी, काबुल सहित कैयौं शहरमा तालिबान र अफगान सेनाबीच झडप भइरहेको छ ।
तालिबानलाई अघि बढ्न नदिएको दाबी अफगान सेनाले गरेको छ ।
देशका उत्तरी जिल्लाहरूमा अफगान सेनाको विशेष टुकडीले तालिबानलाई पछि हट्न बाध्य बनाएको छ । उज्बेकिस्तान ताजिकिस्तान सीमा कब्जा गरेर बसेका आतंकवादीहरूलाई पनि सेनाले लखेटेको छ । महत्त्वपूर्ण बल्ख प्रान्तको कलदारमा स्थानीयहरूको समर्थनमा सेनाले तालिबानलाई भगाएको हो ।
तर तालिबानले पाकिस्तान, इरान, ताजिकिस्तान र तुर्कमेनिस्तानलाई जोड्ने सीमाहरूमा ठूला राजमार्ग र बोर्डर पोस्टमा कब्जा गरेको छ । ती बाटो भएर २.९ अर्ब डलर आयात निर्यात हुने गरेको छ ।