
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् ।
बुधवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।
‘इपिएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरू बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु,’ मन्त्री शर्माले भने ।
राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
साथै उनले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राखेका थिए । आयोजनामा ढिलाइ हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए ।