२२ जेठ २०८३, शुक्रबार
खाना बाँड्दै हिँड्ने युवक

काठमाडौंका गल्लीमा असहायलाई खाना बाँड्दै हिँड्ने एक 'अनागरिक'को कथा

साउन १३, २०७८
काठमाडौंका गल्लीमा असहायलाई खाना बाँड्दै हिँड्ने एक 'अनागरिक'को कथा

केही दिनअघि राजधानी काठमाडौंको घण्टाघर अगाडि एउटा अनौठो दृश्य देखियो ।

पछाडिको सीटमा क्रेट बाँधिएको साइकलमा एक युवक अघि बढ्दै थिए ।

साइकलको अगाडि टाँसिएको थियो– दाइको तातो खाना ।

सो दृश्यले स्वाभाविक रूपमा ध्यान तान्यो । उनका सामु पुगेर केही जिज्ञासा राखेँ ।

***

नाम कृष्ण श्रीवास्तव । उमेर २५ वर्ष । पहिचान नै यत्ति मात्र ।

भारतीय नागरिक रहेकी आमा लागूऔषध कारोवारको मुद्दामा नेपालमा जेल परेपछि उनी यहीँको अनाथालयमा हुर्किएका रहेछन् ।

संस्थामै रहेर एसएलसी र बाहिर निस्किएपछि प्लस टुसम्मको अध्ययन गरेको बताउने श्रीवास्तव नेपालमा कोरोना महामारी शुरू भएदेखि नै खाना बाँड्ने काममा सक्रिय रहेछन् ।

स्पोन्सरले घरभाडा तथा खानाका लागि दिएको र ज्यालादारी कामबाट कमाएको पैसा समेत यही काममा लगाएको उनको दाबी छ ।

***

कुराकानीका क्रममा उनले यसरी आफ्नो कथा सुनाए–

पहिलो लकडाउन हुँदा म भक्तपुर बस्थें ।

सीटीईभीटीबाट अटोमोबाइल कोर्स गरिरहेको थिएँ ।

यही बीचमा लकडाउन भयो ।

मलाई काठमाडौंको अवस्था कस्तो छ भनेर हेर्न मन लाग्यो ।

हस्पिटलको कार्ड बनाई हातमा ब्यान्डेज बाँधेर काठमाडौं आएँ ।

ठमेल पुग्दा मान्छेहरूको साह्रै बिजोग देखें ।

लकडाउन भएको ३/४ दिन भइसकेको थियो । सबैले खाना मागिरहेका थिए ।

त्यसपछि विभिन्न टीमसँग मिलेर खाना बाँड्ने काममा सक्रिय भएँ ।

सेकेन्ड लट (निषेधाज्ञाको समय)मा चाहिँ म आफैंले बाँडेको छु ।

आफूसँग बचत भएको केही पैसाबाट खाना बाँड्न थालें ।

अहिलेचाहिँ कसैले सहयोग दिनुभयो भने त्यसैबाट बाँडिरहेको छु ।

जस्तै, कसैले आज मेरो 'बर्थ डे' छ, सहयोग गर्न चाहन्छु भनेर पैसा दियो भने म त्यही पैसाले खाना बनाएर बाँड्छु ।

अहिले एक दिन बिराएर खाना खुवाइरहेको छु ।

लकडाउनको शुरूमा दैनिक ४ सय ५ सय जनासम्मलाई खाना खुवाएँ ।

अरू ठूल्ठूला ठाउँमा गएर खाना खुवाउँछन्, मचाहिँ साइकलमा कुनाकाप्चामा जान्छु ।

सडकमा सुतिरहेका मान्छेलाई उठाएर खाना खुवाउँछु ।

टुँडिखेलदेखि बालाजु र नयाँ बसपार्कसम्म पुगेर खाना खुवाउने गरेको छु ।

***

म सानै उमेरदेखि संस्थामा हुर्किएको बच्चा हो ।

१८ महिनाको हुँदा मलाई नेपाल बाल संगठन गृहमा लगिएछ ।

त्यो सरकारी संस्था हो ।

त्यहाँ लैजाँदा म निकै सानो थिएँ । मलाई थाहा नै छैन ।

७/८ वर्षको हुँदा पीए नेपाल नामक संस्थामा शिफ्ट गरियो । म त्यहीँ हुर्किएँ ।

संस्थाबाट निस्किएपछि धेरै दु:ख पाएँ ।

जंगलमा गएर रुखमा पनि बसेको छु । सडकमा सुतें । भोकै पनि बसें ।

लकडाउन भएपछि धेरैले दु:ख पाएको देखें ।

कतिले पैसा माग्छन्, पैसाभन्दा खाना दिनु राम्रो लागेर खाना बाँड्न थालें ।

***

मलाई मिडियामा आएर चर्चा कमाउनु छैन ।

तर, म नागरिकताका लागि लडिरहेको छु । त्यसका लागि केही सहयोग मिल्छ कि भन्ने आशा छ ।

नागरिकता नहुँदा निकै दु:ख पाएँ ।

केही काम गरौं वा जागिर खाऔं भन्दा नागरिकता चाहिन्छ ।

मलाई इन्डियन भन्छन्, तर इन्डियन भन्ने प्रमाण छैन ।

नेपाली भनुँ भने नेपाली भन्ने प्रमाण पनि छैन ।

मेरो आमा इन्डियन हो ।  

उहाँ नेपालको जेलमा हुँदा म संस्थामा हुर्किएँ ।

मैले जानेदेखि नै नेपालमा छु ।

नागरिकताका लागि सीडीयो कार्यालयमा गएँ । कानून छैन, कानूनमै व्यवस्था नभएसम्म हुँदैन भन्नुभयो ।

ममी इन्डियन भएका कारण इन्डिया गएर ३ चोटीसम्म नागरिकताका लागि प्रयास गरें । तीनैचोटी रिजेक्ट गरिदिए ।

ममीलाई ठाउँ खोजेर इन्डियामै राख्दिएको छु । अरूको घरमा काम गर्नुहुन्छ ।

चुनाव आउँदा नागरिकताका लागि प्रयास गरिदिनुस् भनेर ममीलाई भनेको छु । चुनावमा भोटका लागि गरिदिन्छन् कि भन्ने आशा छ ।

नेपालमा पनि मैले प्रयास गरिरहेको छु ।

मलाई नागरिकता चाहिएको छ । नागरिक बन्न चाहन्छु ।

भारत वा नेपाल जहाँको नागरिकता भए पनि हुन्छ ।

माया त नेपालकै लाग्छ ।

यहीँ हुर्किएँ । घर नै यही हो जस्तो लाग्छ ।

हेर्नुहोस्, भिडियो :

***

पीए नेपाल नामक संस्थाकी संस्थापक इन्दिरा रानाले पनि कृष्ण श्रीवास्तव नाम गरेका ती युवक आफ्नो संस्थामा हुर्किएको पुष्टि गरिन् ।

१० वर्षको उमेरदेखि संस्थाको संरक्षणमा हुर्किएको उनको भनाइ छ । यद्यपि अहिले भने संस्थाबाट बाहिरिसकेको रानाले जानकारी दिइन् ।

'आमा भारतीय नागरिक हुन् । उनी लागूऔषधको मुद्दामा वीरगञ्जमा पक्राउ परेकी थिइन् । पछि केन्द्रीय कारागारमा सारियो,' रानाले भनिन्, 'बुवा पनि इन्डियन नै रहेको र मृत्यु भएको जानकारी हामीलाई गराइएको थियो ।'

आफूहरूले पनि नागरिकताका लागि पहल गरिदिएको, तर आमाबुवा नै भारतीय नागरिक भनेर अस्वीकृत भएको उनले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्