
उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्ने लक्ष्यका साथ पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन गरिएको किसान बजारमा कोल्ड रूम स्थापना गरिएको छ ।
पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित कृषि बजारमा कृषकले उत्पादन गरेका कृषिउपजको संरक्षण एवं बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यका साथ कोल्ड रूम स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
३ टन क्षमता रहेको कोल्ड रुम फलफूल तथा तरकारी मूल्य शृंखला विकास आयोजनाद्वारा ४ लाख ८० हजार रुपैयाँको लागतमा स्थापना गरिएको किसान बजार निर्माण तथा सञ्चालक समितिका अध्यक्ष चूडामणि बरालले जानकारी दिए ।
पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले बुधवार एक समारोहबीच नवनिर्मित कोल्ड रूमको उद्घाटन गर्दै यसबाट कृषकले भरपुर फाइदा लिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, वडासदस्य वैकुण्ठ भण्डारी, महानगर कृषि महाशाखा प्रमुख मनहर कडरिया, कृषक उमानाथ सुवेदी, खिमलाल बराल, उमाकान्त बरालले कोल्ड रूमको महत्त्व र आवश्यकतामाथि प्रकाश पारेका थिए ।
पोखरा महानगरपालिकाद्वारा ११ लाख रुपैयाँको लागतमा कृषि बजारको निर्माण गरी गत वर्षदेखि सञ्चालनमा ल्याएको हो । विश्वव्यापीरूपमा पैmलिएको कोरोनाको कारण बन्द भएको सो बजार साउन १ गतेदेखि पुनः सञ्चालनमा आएको कृषक श्याम पोखरेलले जानकारी दिए ।