
पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न शुरू गरेका छन् ।
अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरू पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट शुरू गरेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
बिहीबार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए ।
प्रधानमन्त्री रहँदा उनले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका सम्पूर्ण बैठक गर्दै आएका थिए ।
अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिए ।
अध्यक्ष ओलीको स्वास्थ्यमा कुनैपनि समस्या नरहेको र उनी सक्रिय रुपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेको कार्यालय सचिव तामाङको भनाई छ ।
कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको उनले बताए ।
‘पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर उहाँहरुलाई अर्को कुनै अप्ठ्यारो नहोस्, भीडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कार्यकक्षहरूको व्यवस्था भएको छ । उहाँको भेटघाट गर्ने रुमको व्यवस्था छ । हामीले व्यवस्थित ढंगले नै भेट्ने र अरु पार्टीका कामहरु गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार भएको छ,’ उनले भने ।
सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।
पार्टी अध्यक्ष ओलीको अत्यावश्यक बैठक भौतिक उपस्थिति बिना भर्चुअल माध्यमबाट पनि गर्न सकिने गरी पार्टी कार्यालयमा भर्चुअल रुम तयार गरेको जानकारी दिए ।