१४ असार २०८३, आइतबार

म्याग्दीमा बरपिपल, चौतारी, पोखरी संरक्षण अभियान

साउन १५, २०७८
म्याग्दीमा बरपिपल, चौतारी, पोखरी संरक्षण अभियान

धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग साइनो गाँसिएका बर–पिपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मतसम्भारका लागि म्याग्दीका विभिन्न गाउँमा अभियान नै सञ्चालन गरिएको छ ।

६ वटा स्थानीय तह रहेको म्याग्दीका धवलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मङ्गला, मालिका, रघुगङ्गा र अन्नपूर्ण गरी ५ वटा स्थानीय तहका १४ वटा वडामा बरपिपल लगाउने र चौतारी–पोखरी निर्माण गर्ने कामले तीव्रता पाएको छ ।

बेनीलगायत केही स्थानीय तहका वडाले बजेट नै छुट्याएर बर–पिपल र चौतारी–पोखरी संरक्षण, मर्मत तथा निर्माण गरेका छन् भने कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगतरूपमा समेत बर–पिपल लगाउने र चौतारी पोखरी निर्माण गर्ने काम भइरहेको छ । बेनी–६ ले गत वर्षदेखि वडाभित्र रहेका पुराना बर–पिपल, चौतारी–पोखरी र पँधेरा–कुवाको संरक्षण अभियानमा करीब ५ लाख बजेट नै खर्च गरेको वडाध्यक्ष कृष्णबहादुर बानियाँले जानकारी दिए ।

पुराना सम्पदाको संरक्षणसँगै नयाँ पुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकौं अगाडिका बर–पिपल, चौतारी, पोखरी र धाराको संरक्षण गरिएको उनले बताए । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौं पहिले रोपिएका बर–पिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा) को संरक्षण र मर्मतमा स्थानीयको चासो बढेको अध्यक्ष बानियाँले बताए ।

उनका अनुसार १०० वर्षभन्दा पुराना बर–पिपलका रुख रोप्नेहरूको विवरण संकलन गरी परिवारबाटै संरक्षणको प्रयास गरिएको छ । गत वर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त बर–पिपल संरक्षण तथा रोपणका लागि ३ लाख र चौतारी तथा कुवाका मर्मतसम्भारका लागि २ लाख बजेट खर्च गरिएको उनले बताए ।

बजेटबाट थानकपोखरी र जरबुटामा बर–पिपल रोपण र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो ।

बर–पिपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्यांक राख्ने कामसमेत वडाले गरेको छ । वडामा अहिलेसम्मको तथ्यांक अनुसार ५० भन्दा बढी बर–पिपल र चौतारी छन् । त्यसैगरी ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ ।

स्थानीयको सहयोगमा बर–पिपल मास्न, काट्न, रुखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रुखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा, काँटछाँट गर्ने जिम्मेवारी दिइएको छ । त्यसैगरी बेनी–५ पुलाचौरको देउपुर्ने, आँटी पानीपँधेरा सामुदायिक वनमा १०८ बर–पिपलका बिरुवा रोपिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्