
नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ तर तपाईं–हामी धेरैलाई थाहा छैन, करीब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो ।
सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबी गर्दै आएका छन् । जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो । यसलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको थियो ।
यसको लम्बाइ शुरूमा ५०० मिटर थियो । एकातर्फका भाग पहिरोले पुरिएपछि १९८ मिटर बाँकी रहेको जनाइएको छ ।
चौडाइ २.५ मिटर र उचाइ ३ मिटर छ । पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सन् १९१७ मा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौंडा छिचोल्न यो सुुरुङमार्ग निर्माण गरिएको थियो । त्यस समय भारतबाट अमलेखगञ्जसम्म रेल आउँथ्यो ।
अब बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालयले मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाईस्थित सुरुङमार्गको पुनर्निर्माण थालेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बिहीवार पुनर्निर्माण कार्यको शिलान्यास गरेका छन् ।
‘यो इतिहास नयाँ पुस्तालाई हस्तान्तरणसँगै पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण हुने हामीले अपेक्षा लिएका छौं,’ मुख्यमन्त्री पौडेलले भने ।
पौडेलले आफू किशोरावस्थामा २०१८ सालतिर यो सुरुङमार्गबाट मोटर चढेर अमलेखगञ्ज गएको स्मरण गरे । पुर्खाले १ शताब्दीअघि सुरुङ निर्माण गरे पनि त्यसलाई पछ्याउन नयाँ पुस्ताले ढिलाइ गरेको उनको भनाइ थियो ।
उनका अनुसार सुरुङमार्ग सञ्चालनताका भारतबाट अमलेखगञ्जसम्म रेल आउँथ्यो । रेल पछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो ।
अमलेखगञ्ज–भीमफेदी मार्गअन्तर्गत चुरेमा भने उकालो भएकाले मोटर गुडाउन असहज भएपछि विकल्पमा सुरुङ खनेको जनाइएको छ । निर्देशनालयले यसको पुनर्निर्माणका लागि ४ करोड ५७ लाख रुपैयाँको बोलपत्र आह्वान गरेको थियो ।
माउन्टेनइन्फ्रा कम्पनी स्युचारटार काठमाडौंले ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँमा ठेक्का पारेर काम अघि बढाएको हो ।
‘निर्माण कार्य समयमै सम्पन्न हुने गरी काम अघि बढाएका छौं,’ भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भने । निर्माण कम्पनीले २०७९ वैशाख १९ गतेसम्ममा पुरानै स्वरूपमा पुनर्निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।