
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाइट जडान गरेको छ ।
महाशाखाले जय नेपाल चोकमा काठमाडौं महानगर-१ र नक्साल भगवतीमा कुमारी बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाइट जडान गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानका लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइँदै आएको बताए ।
महाशाखाले हालसम्म उपत्यकाको मुख्य-मुख्य ३४ वटा चोकहरूमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ ।
ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि आगामी दिनहरूमा अन्य चोकहरूमा लाइट जडानका लागि समन्वय एवम् सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।