नयाँ शैक्षिक सत्र शुरू भएको झण्डै डेढ महिना पुगिसकेको छ । कोभिड–१९ संक्रमणका कारण विद्यालय सञ्चालन गर्ने विषय अन्यौलमा पर्दै गएको छ ।
संक्रमणको दर बढ्दै जाँदा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न समस्या भइरहेका बेला पर्वतका स्थानीय तहले वैकल्पिक विधिबाट पठनपाठन गराउन थालेका छन् ।
पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा गएको असार १५ गतेदेखि नै निजी तथा सामुदायिक विद्यालयले वैकल्पिक कक्षा सञ्चालन गरेका थिए तर ग्रामीण भेगमा रहेका स्थानीय तहमा भने अन्यौल रहेको थियो ।
कोभिड–१९ संक्रमण न्यूनीकरण भएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने अवस्था नदेखिएपछि अन्य ६ वटा स्थानीय तहले वैकल्पिक विधिवाट कक्षा सञ्चालन गर्न थालेका हुन् ।
जिल्लाको मोदी गाउँपालिकाले अनलाइन कक्षा, घरदैलो कार्यक्रम, टोल शिक्षा र मोबाइल फोनको प्रयोग गरी पठनपाठन गराउन निर्देशन दिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग गरी उपयुक्त विधि अपनाएर पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार सबै शिक्षक विद्यालयमा हप्ताको २ दिन अनिवार्य उपस्थित हुने, विद्यालयको कार्ययोजना अनुसार सिकाइ सहजीकरणमा सक्रिय भएर लाग्न निर्देशन दिइएको उनले बताए ।
दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले १ देखि ७ कक्षासम्म टोल शिक्षामार्फत विद्यार्थीलाई पढाउन विद्यालयलाई निर्देशन दिएको छ । ८ कक्षादेखि माथि अनलाइन र भर्चुअल कक्षा सञ्चालन गरी पठनपाठन नियमित गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए ।
लामो समयको बन्दाबन्दीमा विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् र शैक्षिक सत्रको सदुपयोगका लागि यस्तो निर्देशन गरिएको लामिछोनले बताए ।
जलजला गाउँपालिकामा वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्नेबारेमा छलफल भइरहेको छ । कोभिड संक्रमण घट्दै गएमा भौतिक उपस्थितिमै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्ने र संक्रमण बढ्दै गएमा उपयुक्त वैकल्पिक विधि अपनाएर पठनपाठन सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार अभिभावकले विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारीसँग छलफल भइरहेको छ ।
जलजला गाउँपालिका–९ बनौमा रहेको बनौ माविमा भने भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिएको छ । वडामा संक्रमणको दर न्यून रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर पुनले जानकारी दिए ।