
मन्त्रिपरिषद् विस्तार आजै हुने सम्भावना लगभग टरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बताइए पनि मुख्य सत्ता साझेदार नेकपा माओवादी केन्द्रले भोलि मात्र मन्त्री छान्ने भएको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सरकारमा सहभागिताका विषयमा निर्णय लिन ढिलाइ गर्दा मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतवार बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।
स्थायी कमिटी बैठकअघि प्रचण्डले नेता नेपाललाई भेटेका थिए ।
बैठकमा प्रचण्डले अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्नु नहुने प्रधानमन्त्रीको धारणा रहेको सुनाएका थिए ।
माओवादीले मन्त्री छान्न भन्दै भोलिका लागि स्थायी कमिटी बैठक राखेको छ ।
अर्को सत्ता साझेदार जसपाले भने सम्भावित मन्त्रीको नाम अध्यक्ष उपेन्द्र यादवलाई बुझाइसकेको छ ।
सत्ता गठबन्धनभित्रका दलले निर्णय गर्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
असार २९ गते शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री नियुक्त गरेका थिए ।
चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार चलिरहेको छ ।