
काठमाडौं, २८ जेठ — फ्रान्समा संसदीय निर्वाचनको पहिलो चरणको मतदानका लागि मानिसहरू आइतवार मतदान केन्द्र पुगेका छन् । राष्ट्रपति इम्यानुएल म्याक्रोंले बहुमत ल्याउने प्रक्षेपण गरिएको छ ।

मतदान केन्द्रहरू स्थानीय समयअनुसार बिहान ८ बजे खुलेका थिए र ठूला शहरमा बेलुका ८ बजे बन्द हुनेछन् ।
जम्मा ५७७ सीटका लागि सात हजार आठ सय ८२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत नल्याएमा माथिल्ला दुई दलले अर्को हप्ता हुने दोस्रो चरणको मतदानमा प्रतिस्पर्धा गर्नेछन् ।
ताजा ओपिनियन पोलका अनुसार म्याक्रोंको मध्यममार्गी एन मार्शे दलले कम्तीमा ३० प्रतिशत मत पाउने अनि कन्जर्भेटिभ रिपब्लिकन तथा उनीहरूका साझेदारले करीब २० प्रतिशत मत पाउने देखिन्छ । उग्रदक्षिणपन्थी नेसनल फ्रन्टले करीब १७ प्रतिशत मत पाउने देखिन्छ ।
राष्ट्रपति म्याक्रोंले आफूलाई बलियो कार्यादेश दिनका लागि मतदाताहरूलाई आह्वान गरेका छन् । उनले निर्वाचन अभियानमा नियुक्त तथा बर्खास्त गर्न सहज हुने गरी श्रमसम्बन्धी नियम परिवर्तन गर्ने, वित्तीय कर कटौती गर्ने र रोजगारी तालिम तथा नवीकरणीय ऊर्जा लगायतका क्षेत्रमा अर्बौं लगानी गर्ने वाचा गरेका थिए ।
म्याक्रोंका विरोधीहरूले चाहिँ उनले प्रचण्ड बहुमत पाएमा लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिएका छन् ।
एजेन्सी