
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका बिग्रिएका र महत्त्वाकांक्षी तत्वका कारण प्रगतिशील सरकार ढलेर दक्षिणपन्थी सरकार बनेको आरोप लगाएका छन् ।
पार्टीको सरकारलाई भुइँमा पछारेर सत्ता गठबन्धनको बैठकमा सहभागी भएको भन्दै उनले माधव नेपालको चर्को आलोचना गरे ।
तुल्सीलाल अमात्यको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल लगायत केही नेताले अनुशासनहीन र अराजक क्रियाकलाप जारी राखेको आरोप लगाएका हुन् ।
‘प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनु प्रतिगमन होइन भने के हो प्रतिगमन ?’ ओलीले प्रश्न गरे, ‘तथाकथित कम्युनिस्ट, हाम्रो पार्टीका बिग्रिएका र महत्त्वाकांक्षी तत्वले गर्दा यो स्थिति आएको छ ।’
ओलीले विकासप्रेमी कम्युनिस्ट सरकारलाई ढाल्नका लागि स्वार्थी, लोभीपापी, महत्त्वाकांक्षी, बिकाउ माल प्रयोग गरेर पार्टीभित्र अन्तरकलह सिर्जना गरिएको आरोप समेत लगाए ।
‘कहिले दक्षिणपन्थीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकोमा गएको छ, कहिले अदालतमा गएर हस्ताक्षर गरेको छ । अनुशासहीनता र अराजकता प्रदेश प्रदेशमा पुगेको छ,’ ओलीले भने ।
यसैबीच आइतवार बसेको एमाले स्थायी कमिटी बैठक सोमवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
छोटो समय स्थायी कमिटी बैठक बसेपछि ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।