२५ जेठ २०८३, सोमबार

सबै खालका क्यान्सरको औषधि उत्पादन नेपालमै, ३० देखि ५० प्रतिशत सस्तो हुने दावी

साउन १८, २०७८
सबै खालका क्यान्सरको औषधि उत्पादन नेपालमै, ३० देखि ५० प्रतिशत सस्तो हुने दावी

अब जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन शुरू भएको छ ।

नेपालमै पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन शुरू भएको हो । नेपालमै क्यान्सर उत्पादन भएपछि ३० देखि ५० प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दाबी गरिएको छ ।
 

नेपालमा क्यान्सरको औषधि उत्पादन शुरू हुनु नेपालकै लागि गौरवको विषय भएको सम्बन्धित विज्ञले बताएका छन् ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णु पौडेलले नेपालमै क्यान्सर रोगको औषधि उत्पादन हुनु ठूलो विषय रहेको बताए । उनले नेपालमै औषधि उत्पादन हुँदा बिरामीले सस्तो औषधि पाउन सक्ने भएकाले यसले नेपालीलाई फाइदा गर्ने बताए ।
 

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालीका लागि क्यान्सरको औषधि नेपालमै उत्पादन हुँदा धेरै सहज हुने बताए । उनले अब क्यान्सरका हरेक औषधि सस्तोमा उपलब्ध हुने जानकारी दिए ।
 

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले पनि नेपालमा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन नेपालमा नै शुरू भएको बताए । यसले नेपालमा क्यान्सर रोगीका लागि धेरै फाइदा हुने बताए ।
 

‘एन्टी क्यान्सर’ औषधि टिजिग फर्माले उत्पादन शुरू गरेको हो । फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यले फर्मामा क्यान्सरसम्बन्धी मात्रै औषधि उत्पादन हुने जानकारी दिए ।

उनले क्यान्सरविरुद्ध औषधि उत्पादन गर्ने आफ्नो कम्पनी नेपालकै पहिलो भएको बताउँदै औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरू भइसकेको बताए ।
 

उनले एक महिनाभित्र केही औषधि व्यावसायिक रूपमा बजारमा ल्याइने बताए । उनले विश्व स्वास्थ्य सङ्गठन र नेपालको प्रविधि हस्तान्तरणमा रहेको नियमअनुसार भारतको हैदरवादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादन र बिक्री वितरण गर्दै आएको फर्मा कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी औषधि उत्पादन अघि बढाएको बताए ।
 

काभ्रेको नालामा १६ रोपनी क्षेत्रफलमा उद्योग रहेको र हालसम्म ३२ करोड रुपियाँ लगानी भइसकेको बताए ।
 

उनले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको जानकारी दिँदै थप १० वटा मोलिक्युलका लागि स्वीकृति लिन लागिएको बताए । तीमध्ये पाँचवटा फर्माकोपेल, अरू ननफर्माकोपेल छन् । यीमध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक वैद्यले जानकारी दिए ।
 

अत्याधुनिक प्रविधिमा बनाइएको आफ्नो कम्पनी विश्व स्वास्थ्य सङ्गठनको असल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड र औषधि उत्पादनसंहिता २०७३ अनुरूप बनाइएको वैद्यले बताए । उनले यो नेपालकै नमुना कम्पनी भएकोसमेत दाबी गरे।

क्यान्सर रोगको औषधिले गर्दा हुने टक्सिसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाउँमा अन्य औषधि उत्पादन गर्न नमिल्ने उनको भनाइ छ । उनले नवीनतम र अत्याधुनिक प्रविधि जडान भएको बताए । गोरखापत्र दैनिकमा सरोज ढुंगेलले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्