
सरकारले कोरोना भाइरसविरुद्धको पाँच करोड २३ लाख डोज खोप उपलब्ध हुने अवस्था रहेको बताएको छ ।
तीन करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।
सोमवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री श्रेष्ठले कोभ्याक्स सुविधाअन्तर्गत एक करोड १३ लाख खोप पाउने र कोभ्याक्स लागत सहभागितामा एक करोड ५० लाख खोप खरिद हुने बताएका हुन् ।
कोभ्याक्स लागत सहभागितामा खरिद गरिने खोपमध्ये ४० लाखको भुक्तानी भइसकेको र एक करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले जानकारी गराए ।
बालबालिका लक्षित फाइजरको ६० लाख समेत तीन करोड २३ लाख डोज खरिद प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले दाबी गरे । ‘समग्रमा पाँच करोड २३ लाख डोज खोप प्राप्त हुने अवस्था छ,’ श्रेष्ठले भने ।