
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल मास्क सप्ताह’ सञ्चालन गर्ने भएको छ ।
सोमवार ‘सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना’ सार्वजनिक गर्दै राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न स्थानीय सरकारसँग समन्वय गरी साउन २३ देखि २९ सम्म मास्क सप्ताह सञ्चालन गर्ने जानकारी दिएका दिएका हुन् ।
‘आउन सक्ने कोभिड–१९ को तेस्रो लहर सामना गर्न समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अविलम्ब सार्वजनिक गरिनेछ,’ उनले भने, ‘सबै नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन ‘नेपाल मास्क सप्ताह’ आयोजना गरिनेछ ।’
उनले कोभिड–१९ को तेस्रो लहर आउन नदिन जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न सबैलाई आह्वान गरेका छन् ।
कार्य योजनामा कोभिड १९ को तेस्रो लहरको सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अविलम्ब सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।
यस्तै राज्यमन्त्री श्रेष्ठले सबै नेपाली नागरिकलाई आगामी चैत मसान्तसम्म कोभिड खोप लगाइसक्ने योजना पनि सार्वजनिक गरे ।
उनले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि गरिएको कामलाई चुस्त र प्रभावकारी बनाउन विज्ञहरूको समूह गठन गर्ने योजना पनि अघि सारेका छन् ।
कार्ययोजनामा कोभिड संक्रमितहरूको उपचारका लागि आवश्यक अस्पताल र उपकरणहरूको तत्काल व्यवस्था गर्ने पनि समावेश गरिएको छ ।