
नेकपा एमालेका सांसदहरूले भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटना सम्बन्धमा भारतसँग कुरा गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
एसएसबीले तुइन काट्दा जयसिंह धामीको मृत्यु भएको भनेर प्रत्यक्षदर्शीले बताइरहँदा पनि सरकार भारतसँग कुरा गर्न डराएको आरोप लगाएका हुन् ।
सोमवार बसेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गर्दै एमाले सांसदहरूले कूटनीतिक माध्यमबाट भारतसँग कुरा गर्न आग्रह गरेका हुन् ।
सांसद कोमल वलीले दार्चुला घटना सम्बन्धमा सरकारले किन भारतसँग कुरा गर्न नसकेको भनेर प्रश्न गरिन् ।
‘तुइन काटेर जयसिंह धामी नदीमा खसेको घटना मानवीयता विरोधी र लज्जास्पद घटनामा सरकारले समिति बनाएर मात्र बस्न मिल्छ कि भारतसँग कुरा गर्न सक्छ सरकारले ? कि सरकारले यसलाई कम्फरटेबल बनाउन खोजेको हो ?,’ वलीले प्रश्न गरिन् ।
सांसद भैरवसुन्दर श्रेष्ठले एसएसबीले तुइन काटेको भनेर जयसिंह धामीका साथीहरूले बताइरहँदा भारतसँग कुरा गर्न सरकार किन डराएको भनेर प्रश्न गरे ।
‘जयसिंह धामीसँग गएका साथीहरूले एसएसबीको आदेशमा तुइनको लट्ठा काटेको छ भनेर सत्यतथ्य आइसकेको अवस्थामा हाम्रो कम्फरटेबल र परमादेशले बनेको सरकार भारतसँग कुरा गर्न किन डराइरहेको छ ?’ श्रेष्ठले प्रश्न गरे ।
सांसद भगवती न्यौपानेले दार्चुला घटना सम्बन्धमा सरकारले भारतसँग कुरा गर्ने आँट नगरेको आरोप लगाइन् । ‘दार्चुला घटना सम्बन्धमा देश स्तब्ध भएको छ, जनतालाई दुखेको छ । गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार छ । एसएसबीका कारण किन नेपाल सरकारले भारतलाई सोध्ने आँट गरेन ?,’ न्यौपानेले भनिन् ।
सांसद शेरबहादुर कुँवरले एसएसबीका जवानले तुइन काटेर भएको घटना हत्या र जघन्य अपराध भएको भन्दै उच्चस्तरीय कूटनीतिक ढंगबाट भारतसँग कुरा उठाउन माग गरे ।
सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले घटना सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदनको आधारमा सरकारले धारणा बनाउने र अडान लिने बताए ।
‘घटना सम्बन्धमा छानबिन गर्न समिति गठन गरिसकेको अवस्थामा छानबिनमा प्रभाव पार्ने गरी हामीले आफ्नो कुनै राय दिन मिलेन । छानबिनबाट प्रतिवेदन आइसकेपछि घटनाको सत्यतथ्य आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख कुरालाई जुनसुकै अडान लिन हामी तयार छौं,’ खाणले भने, ‘त्यसका लागि आवश्यक पहल गर्ने, निर्णय गर्ने र आफ्नो धारणा सार्वजनिक गर्न र अगाडि बढ्न गृह मन्त्रालय र नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी गराउँछु ।’
महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काट्दा दार्चुलाको ब्यास गाउँपालिका ३३ वर्षीय जयसिंह धामी बेपत्ता छन् ।