०४ असार २०८३, बिहीबार

ऊर्जामन्त्री भुसालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता

साउन १८, २०७८
ऊर्जामन्त्री भुसालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ–सुकले सोमवार शिष्टाचार भेट गरेका छन् ।

ऊर्जा मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल–कोरियाको आपसी चासो र सहयोगका विषयमा विचार विमर्श भएको थियो ।

सो अवसरमा मन्त्री भुसालले २ देशबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने विश्वास व्यक्त गरिन् ।
    
भेटमा राजदूत पार्कले माथिल्लो त्रिशूली–१ परियोजनाबारे जानकारी गराए । आगामी अक्टोबरमा शिलान्यास गर्ने गरी परियोजना अगाडि बढाइएको उनले बताए । राजदूत पार्कले कोरियाली सरकारी स्वामित्व रहेको कम्पनीको लगानी रहेको परियोजना अगाडि बढाउनका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक काम अघि बढाइदिन समेत अनुरोध गरे ।

उनले आयोजना सम्पन्न गर्न सके २ देशबीच आपसी सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

जवाफमा मन्त्री भुसालले जलविद्युत् क्षेत्रका आयोजनाहरू समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै अपर त्रिशूली आयोजना निर्माणका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काम अगाडि बढाउने बताइन् ।

कोरियाली लगानी, सहयोग र साझेदारीका योजनालाई समयमै सम्पन्न गर्दै आपसी विश्वास अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो । 

मन्त्री भुसालले कोरियाले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गर्दै ईपीएस कार्यक्रमअन्तर्गत कोरिया जाने तयारीमा रहेका नेपालीलाई आवश्यक सहजीकरण गर्न आग्रह गरिन् ।

उनले कोभिड–१९ का प्रोटोकल बनाएर नेपाली युवालाई गन्तव्यसम्म पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । कृषि क्षेत्रमा कोरियाको राम्रो अनुभव रहेको बताउँदै मन्त्री भुसालले त्यस्ता क्षेत्रको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्न सकिने बताइन् ।

राजदूत पार्कले कोरियन भाषा परीक्षा पास गरेका नेपालीलाई कसरी गन्तव्यसम्म पुर्‍याउने विषयमा परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको जानकारी गराए । उनले कृषि क्षेत्रमा थप सहकार्यका लागि आफूले कोरियाली विकास नियोगमार्फत सहकार्य गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्