१० असार २०८३, बुधबार

मनसुनजन्य विपद्ले जेठयता ६६ जनाको मृत्यु, ४० बेपत्ता

साउन १९, २०७८
मनसुनजन्य विपद्ले जेठयता ६६ जनाको मृत्यु, ४० बेपत्ता
फाइल फोटो

 यस वर्षको मनसुन सुरु भएपछि मनसुनजन्य विपद्का कारण ६६ जनाको मृत्यु भएको छ । ४० जना अझै बेपत्ता भएका छन् । यस्तै ८१ जना घाइते भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले सोमबारको राष्ट्रिय सभा बैठकलाई जानकारी गराएअनुसार मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्कीलगायतका ५५ जिल्ला प्रभावित भएका छन् । खाँणका अनुसार विभिन्न ४० जिल्लामा ६ सय १९ घर पूर्णरूपमा र १ सय ६२ घर आंशिक रूपमा क्षति भएको छ ।

गत १ असारमा सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, यांग्री र लार्के नदीमा आएको बाढीबाट ५ जनाको मृत्यु, २० जना बेपत्ता र ६ जना घाइते भएका थिए । ३ सय ३८ घर पूर्णरूपमा क्षति भएको छ भने सातवटा पुल, १४ वटा झोलुंगे पुल, एक माछा फार्म र ३२ वटा सरकारी भवनमा क्षति पुगेको छ । सोही दिनको बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्कसमा क्षति पुगेको छ ।

आइतबार बिहानैदेखि मेलम्ची नदीमा बाढी आउँदा अझै जनजीवन त्रासमा रहेको छ । जनजीवन सामान्य अवस्थामा फर्किंदै गर्दा १६ र १७ साउनमा फेरि आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा थप क्षति पु¥याएको छ । लेदो, गेग्रानसहितको बाढीले ५३ वटा घर, एउटा पक्की पुल, एउटा झोलुंगे पुल र एउटा सामुदायिक भवनमा क्षति भएको गृहमन्त्री खाँणले जानकारी दिए ।

आइतबारको बाढीले हेलम्बु क्षेत्रमा पुग्ने राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सो स्थानमा जानका लागि वैकल्पिक बाटोका रूपमा काठमाडौं, सुन्दरीजल, पाटी भन्ज्याङ, चित्रे, कुटुम साँगा हुँदै मेलम्ची खानेपानी मुहानसम्म पुग्ने सडक मार्ग सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिइएको मन्त्री खाँणले सभालाई जानकारी गराए । विगतका वर्षको तुलनामा यस वर्ष वढी वर्षा हुने पूर्वानुमान गरिएको थियो । बाढी पहिरोको कारण र रोकथामका लागि सरकारले सचेत भएर काम गरिरहेको उनले जानकारी दिए ।

बाढीको कारण पत्ता लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, खानी तथा भूगर्भ विभाग, जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन विश्वविद्यालयका भूगर्भ विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थापन पुल्चोकका विज्ञको टोली अवलोकनका लागि गएको थियो । उनीहरूले वर्षा नभए पनि बाढी आउने क्रम नरोकिएको र सुख्खा पहिरो बगिरहेकाले जोखिम अझ बढ्न सक्ने औंल्याएका छन् । सरकारले रोकथामका लागि सबै शक्ति प्रयोग गरिरहेको मन्त्री खाँणले जानकारी गराए । राजधानी दैनिकमा सविन शर्माले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्