१० साउन २०८३, आइतबार

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी तथा पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले विज्ञप्तिमा सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय लिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘नेपालका लागि खेल्नु मेरो जीवनकालको सर्वश्रेष्ठ उपलब्धि हो ।’

सन् २००२ मा १५ वर्षको उमेरमा आफूले क्रिकेट सुरु गरेयता पाएको साथ, समर्थन माया र हौसलाप्रति सम्पूर्ण प्रशिक्षकहरु, खेलाडीहरु, प्रशंसक, सरोकारवाला, मिडियालगायतप्रति ऋणी रहने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘क्रिकेटरका रुपमा मैले आफ्नो मन, बचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ’, उनले भनेका छन्, ‘मेरो जीवनमा मैले देखेका सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो । तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र  सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमान्दारीताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्यपनि एउटा उचाइमा पुर्याउनेछौं ।’

उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा टुंगिएपनि नेपाली क्रिकेटको लागि आफ्नो सपना भने अझैपनि बामे सर्दै गरेको समेत बताएका छन् ।
उनले मैदानभित्रका दुई दशक मिठो यादका रुपमा आफूसँग रहने भन्दै सबै मिलेर क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा पनि जोड दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्