
लुम्बिनी प्रदेशका विपक्षी दलहरूले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई समावेदन गरेका छन् ।
प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुख अमिक शेरचनलाई विशेष अधिवेशन आह्वान गर्न समावेदन गर्न पुगेका हुन् ।
मंगलवार अपराह्न ४ः१५ बजे विपक्षी दलहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरेर प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्न समावेदन गरेका हुन् ।
यसअघि ३४ जना सांसदको हस्ताक्षरसहित विपक्षी दलले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
गठबन्धनले सोमवार गठबन्धन सरकार गठनको लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।
अविश्वास प्रस्ताव दर्ता गरेपछि विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखसँग समावेदन गरिएको कांग्रेसका प्रमुख सचेतक फकरउद्दिन खान बताए ।
मुख्यमन्त्रीविरुद्ध गठबन्धनले तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गरेको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र सहितको ४ दलीय गठबन्धनले गत वैशाख १९ गतेदेखि सरकार परिवर्तनको खेलमा छ ।
प्रदेश प्रमुख नयाँ आएपछि विपक्षी गठबन्धनले सत्ता हात पार्न गतिविधिलाई तीब्र बनाएको छ ।