काठमाडौं, २८ जेठ –पशुपन्छी मन्त्रालयले नेपाललाई बर्डफ्लू मुक्त घोषणा गरेको छ । हाल मुलुकमा बर्डफ्लू पूर्ण रुपमा नियन्त्रणमा रहेको र उक्त रोग उत्पति हुन सक्ने स्थिति नरहेको दावीका आधारमा पशुपंक्षी मन्त्रालयले यस्तो घोषणा गरेको हो । आइतवार मन्त्रालयले पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो ।
‘अहिलेसम्मको अवस्थालाई हेर्दा मुलुकमा बर्डफ्लू उत्पन्न हुन तथा फैलन सक्ने देखिँदैन,’ कार्यक्रममा बोल्दै पशुपन्छी मन्त्रालयका सचिव युवकध्वज जिसीले भने, ‘अब यो देश बर्डफ्लूबाट मुक्त भएको हुँदा ढुक्कसँग पन्छीपालन व्यवसाय तथा पन्छीजन्य वस्तुको सेवन गर्न मन्त्रालय समस्त सरोकारवालाहरूमा अनुरोध गर्दछ ।’
सम्भाव्य जोखिमयुक्त स्थानमा सघन निगरानी बढाइएको, शंकास्पद क्षेत्र तथा फार्महरूबाट संकलित नमूना क्षेत्रीय पशु रोग अन्वेशण प्रयोगशाला तथा केन्द्रीय पशुरोग अन्वेशण प्रयोगशालामा परीक्षण गर्दा रोग नभएको प्रमाणित भएको आधारमा मन्त्रालयले यस्तो घोषणा गरेको हो ।
त्यस्तै, मन्त्रालयले पोखरा र सुनसरीमा घोषित संकटग्रस्त क्षेत्रमा लगाएको पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपोसारमा लगाएको प्रतिवन्ध पनि फुकुवा गरेको छ ।
पशुपन्छी व्यवसायलाई प्रवद्र्वन गर्न मुलुकभरीका जिल्ला पशु सेवा कार्यालयहरूबाट शंकास्पद फार्महरूको नमूना संकलनका साथै विशेष निगरानीलाई नियमितझैं जारी राखिएको मन्त्रालयले बताएको छ ।