१० असार २०८३, बुधबार

टर्कीमा डढेलो अनियन्त्रित बनेपछि जनता आक्रोशित

साउन २०, २०७८
टर्कीमा डढेलो अनियन्त्रित बनेपछि जनता आक्रोशित

टर्कीमा यस गर्मी महिनामा जंगलमा लागेको डढेलो अनियन्त्रित बनेपछि जनता आक्रोशित बनेका छन् । 

लगातार सात दिनसम्म भयानक डढेलोले देशको दक्षिण र पश्चिम क्षेत्र आक्रान्त छ । 

डढेलोमा परी दुईजना अग्निनियन्त्रकसँगै आठजनाको मृत्यु भएको छ । गत साताबाट टर्कीको भूमध्यसागर तटक्षेत्रमा लागेको आगोले जंगल र कृषियोग्य भूमि दुवैलाई ध्वस्त पारेको छ । 

३० वटा प्रान्तमा १३७ वटा आगो निभाइसकिएको भए पनि नौवटा आगो अझै बलिरहेका छन् । दश हजारभन्दा बढी मानिस अझै पनि क्षतिग्रस्त घरमा फर्किन सकेका छैनन् । पर्यटनको सीजन चलिरहेको बेलामा यस्तो विपत आइलागेको हो । 

चर्को हावा, कम आर्द्रता र उखरमाउलो गर्मीका कारण डढेलो झन् झन् दन्किरहेको हो । अर्को हप्तासम्म आगो बलिरहने र आगामी वर्षहरूमा पनि यसै हुने बताइएको छ । 

डढेलोको तापको राप टर्कीको अभिलेखमै अहिलेसम्मको चौथो सबभन्दा उच्च रहेको बताइएको छ । 

‘म पाँच दिनदेखि अधिकारीहरूसँग अनुनयविनय गरिरहेको छु,’ मार्मारिस शहर नजिक रहेको एक गाउँका चिन्तित बासिन्दाले बताए । उनको घर डढेलोले स्वाहा पारेको छ । 

‘यहाँ एउटा दमकल समेत थिएन । घर नजिक आगो आएपछि मद्दत गर्ने भन्छन् । अहिले घर नजिक आयो त आगो । यस्तो बेकामे सरकार कसरी टिकिरहेको छ ?’ उनले आक्रोश पोखे । 

‘अब अहिले आएर उनीहरू आफ्नो घर आफैं बनाऊ भन्दैछन् । सराप लागोस् उनीहरूलाई । अल्लाहको डर छ भने वा स्वविवेक छ भने उनीहरूले राजीनामा दिए हुन्छ ।’

टर्कीका विपक्षी दलहरूले राष्ट्रपति रेचेप तैयिप एर्दोआन विपत व्यवस्थापनमा पूरै चुकेको बताएका छन् । 

भूमध्यसागरका अन्य क्षेत्र लेबनन, ग्रीस, स्पेन र इटलीमा पनि डढेलो सल्किएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्