
मंगलवार अफगानिस्तानका रक्षामन्त्री जनरल बिस्मिल्लाह खान मोहम्मदीको घर नजिक कार विस्फोट भयो । मोहम्मदी उक्त आक्रमणमा घाइते भएनन् ।
बुधवार तालिबानले यस आक्रमणको जिम्मेवारी लिएको छ ।
वरिष्ठ अफगान सरकारी अधिकारीहरूविरुद्ध थप आक्रमण गर्ने चेतावनी तालिबानले दिएको छ ।
राजधानी काबुलमा विस्फोट र गोली हानाहानका अनेकौं घटना भएका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार, मन्त्रीको निवासनजिक कार विस्फोट गरेलगत्तै सशस्त्र व्यक्तिहरू भवनमा प्रवेश गरे । सरकारी फौजहरूले ती अपरिचित बन्दूकधारीसँग चार घन्टाभन्दा बढी भिडन्त गरे ।
मोहम्मदीले आफू र आफ्नो परिवार आतंकवादी आक्रमणपछि सुरक्षित रहेको बताए । उनका एक सुरक्षागार्ड घटनामा घाइते भएको टोलोन्युजले खबर दिएको छ ।
उक्त घटनामा कम्तीमा आठजनाको मृत्यु भएको र २० जनाभन्दा बढी घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
अफगानिस्तान नियन्त्रणमा लिनका लागि तालिबानले आक्रमण चर्काउँदै लगेको छ ।