
नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार सञ्चालन गर्ने निःशुल्क ओपीडी अभियानअन्तर्गत यसपटक युरो सर्जनले सेवा दिने भएका छन् ।
आगामी शनिवार वरिष्ठ युरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले सेवा दिने भएका हुन् ।
प्रोस्टेट ठूलो भएका, मृगौला, मुत्रथैली तथा मुत्रनलीमा पत्थरीको समस्या भएका तथा मुत्ररोगसम्बन्धी समस्या भएका बिरामीले अभियानमा सहभागी भएर लाभ लिन सक्ने अस्पतालले जनाएको छ ।
नर्भिकले गत सातादेखि हरेक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । आउने शनिवार डा. द्वयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरूलाई निःशुल्क ओपीडी सेवा दिनेछन् ।
निःशुल्क ओपीडी सेवा लिन ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिने अस्पतालको भनाइ छ ।
नर्भिकले निःशुल्क ओपीडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरूको विषयमा अस्पतालको वेबसाइट र फेसबुक पेजमा पूर्वजानकारी दिने गरेको छ ।
अघिल्लो शनिवार वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु पाण्डेले निःशुल्क ओपीडी सेवा दिएका थिए । ओपीडी सेवामा बिरामीहरूको उल्लेख्य सहभागिता थियो ।
नर्भिक अस्पतालका सीईओ अजयकुमार मिश्रले निःशुल्क ओपीडी सेवाको भरपूर लाभ लिन बिरामीलाई आह्वान गरेका छन् ।