१२ असार २०८३, शुक्रबार

सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कूलमा विद्यार्थी पढाउन शिक्षा मन्त्रालयले परीक्षा लिने

सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कूलमा विद्यार्थी पढाउन शिक्षा मन्त्रालयले परीक्षा लिने

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कूलमा विद्यार्थीलाई पढाउन परीक्षा लिने भएको छ ।

हरेक वर्ष ४० जना विद्यार्थीलाई बूढानीलकण्ठ स्कूलमा पढ्नका लागि छात्रवृत्ति प्रदान गर्ने गरेको शिक्षा मन्त्रालयले गत वर्ष सम्पन्न हुन नसकेको ५ कक्षा र यस वर्षका ५ कक्षामा पढ्न योग्यता पुगेका विद्यार्थीका लागि ५ र ६ कक्षामा ४०–४० गरी जम्मा ८० सिटका लागि साउन ३० गते देशभर परीक्षा सञ्चालन  गर्न लागेको हो ।

आर्थिक स्थिति कमजोर भएका र योग्य तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण आवासीय सुविधासहित बूढानीलकण्ठ स्कूलमा तथा क्षेत्रीयस्तरका अन्य विद्यालयमा समेत छात्रवृत्तिमा पढ्नका लागि संयुक्तरूपमा सञ्चालन गरिने छात्रवृत्ति छनोट परीक्षाका लागि यसपटक देशभर २४ वटा परीक्षा केन्द्र तोकिएका छन् । 

विद्यालयका प्राचार्य होमनाथ आचार्यका अनुसार विद्यार्थीहरूले मन्त्रालय वा विद्यालयको वेबसाइटबाट परीक्षा फाराम डाउनलोड गरी आवश्यक कागजातहरू र अन्य प्रक्रिया पूरा गरी ३० गते बिहान १० बजेअगावै तोकिएका परीक्षा केन्द्रमा बुझाई परीक्षामा सहभागी हुन पाउनेछन् ।

यस वर्ष देशभरबाट ५ र ६ कक्षाका लागि स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी छनोट गर्ने कार्यक्रमका लागि सीसीएमसीले अनुमति दिइसकेको र परीक्षा केन्द्र परेका जिल्ला प्रशासन कार्यालयले पनि परीक्षा सञ्चालनका लागि सहजीकरण गर्ने प्राचार्य आचार्यले बताए ।

स्तरीय शिक्षा प्रदान गर्दै आएको बूढानीलकण्ठ स्कूलमा अध्ययन गर्ने विद्यार्थीमध्ये एकतिहाइ विद्यार्थीलाई नेपाल सरकारले छात्रवृत्तिमा पढाउने गरेको छ । कोरोना महामारीका कारण गत वर्ष ५ कक्षाको परीक्षा सञ्चालन हुन नसकेकाले यस वर्ष एकैपटक ८० जना विद्यार्थीले बूढानीलकण्ठ स्कूलमा प्रवेश गर्ने मौका पाउनेछन् ।

पूर्ण शुल्क तिरेर पढ्नका लागि समेत बूढानीकलण्ठमा धेरै विद्यार्थीको आकर्षण देखिन्छ । धेरै विद्यार्थीले भर्नाका लागि आवेदन गरे पनि मेरिटका आधारमा नाम निकालेका थोरैले मात्र प्रवेश पाउँछन् । 

साउन ३० गते हुने प्रवेश परीक्षामा आफ्नो पायक पर्ने केन्द्रमा विद्यार्थीले परीक्षा दिन पाउनेछन् । तर यसका लागि कम्तीमा ३ वर्षदेखि सामुदायिक विद्यालयमा पढेको हुनुपर्छ । आदिवासी, पिछडिएका, गरीब, जनजाति र सीमान्तीकृत समुदायका विद्यार्थीलाई स्तरीय शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले बूढानीलकण्ठमा एकतिहाइ विद्यार्थीलाई पूर्ण आवासीय सुविधासहित र अन्य क्षेत्रीय विद्यालयमा ती क्षेत्रका छानिएका विद्यार्थीलाई नेपाल सरकारले छात्रवृत्ति दिँदै आएको छ । 

लक्षित समुदायका विद्यार्थीलाई परीक्षामा सहभागी गराई राज्यले दिएको सुविधा उपभोग गर्नका लागि सहयोग गर्न बूढानीलकण्ठ स्कूलका प्राचार्यले सबैमा आग्रह गरे ।

स्मरणरहोस्, ३० गते हुने छात्रवृत्ति छनौट परीक्षामा सहभागी हुनका लागि विद्यार्थीले त्यसअघि नै फाराम भरी आवश्यक सिफारिससमेत लिएर परीक्षा केन्द्रमा जानुपर्नेछ । परीक्षा केन्द्रबारे विस्तृत जानकारी विद्यालयको वेबसाइट र साउन १६ गतेको गोरखापत्रबाट समेत पाउन सकिने छ ।

salt training

कमेन्ट गर्नुहोस्