
कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढीले आर्थिक वर्ष २०७७/०७८ मा २४१ सञ्चयकर्तालाई झण्डै ३५ करोड ८० लाख रुपैयाँ घर कर्जा प्रवाह गरेको छ ।
घर कर्जाअन्तर्गत सञ्चयकर्ताको घर निर्माण तथा मर्मतका लागि यो कर्जा प्रवाह गरिएको कार्यालयले जनाएको छ ।
कर्जाअन्तर्गत घर निर्माणका लागि २१५ सञ्चयकर्तालाई ३२ करोड ६६ लाख प्रवाह गरेको छ भने घर मर्मत सापटीतर्फ २६ सञ्चयकर्तालाई ३ करोड १३ लाख ८५ हजार प्रदान गरिएको हो ।
धनगढी शाखाका प्रमुख राजेन्द्रविक्रम केसीले सञ्चयकर्ताको आवास व्यवस्था गर्नमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषले घर सापटी प्रवाह गरिरहेको बताए । शाखाले कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा घरजग्गा धितो लिइ घर सापटी प्रदान गर्ने गरेको छ ।
सुदूरपश्चिम क्षेत्रका अन्य जिल्लामा समेत घर सापटीको क्षेत्र विस्तार गर्ने कोषको योजना रहेको छ । उनले भने, ‘क्षेत्र विस्तार गर्ने योजना रहे पनि चाहिने जनशक्ति नहुँदा योजना कार्यान्वयन हुन सकिरहेको छैन ।’
कोषले सञ्चयकर्ताको पति वा पत्नीका नाममा रहेको जग्गा र उक्त जग्गामा रहेको घरसमेत धितो राखी घर निर्माण गर्न, घर खरिद गर्न वा तल्ला थप गर्ने वा घर मर्मत गर्ने प्रयोजनका लागि घर सापटी प्रदान गर्ने गरेको छ । घर सापटीका लागि खरिद लागत र धितो मूल्यांकनमा नबढ्ने गरी बढीमा १५ वर्षको तलबमान बराबरको रकम वा अधिकतम १ करोडसम्म सापटी लिन सकिने बताइएको छ ।
घर मर्मतका लागि अधिकतम् २५ लाख रुपैयाँसम्म सापटी पाइने व्यवस्था कोषले गरेको छ । पति र पत्नी दुवै जना सञ्चयकर्ता भई एउटै धितोले खाम्ने अवस्थामा पति, पत्नी दुवै जनाको तलबमानबाट सापटी दिन सकिने प्रावधान समेत छ । घर मर्मतका लागि अधिकतम २५ लाख रुपैयाँसम्म सापटी पाउने व्यवस्था छ ।
‘कर्जाको दुरुपयोग नभएको दाबी गर्दै न्यून बेतनभोगी कर्मचारीको घर बनाउने सपनालाई कोषको सापटीले पूरा गरेको छ,’ केसीले भने, ‘लकडाउनको समस्याका बीच पनि ७० प्रतिशतभन्दा बढी साँवा ब्याज असुल हुनुलाई सकारात्मक मान्न सकिन्छ ।’