
अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत आइरहेको समय जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
महामारीका कारण उद्योगहरूले गरेको कष्टकर सङ्घर्षपछि पछिल्ला केही महिनामा उद्योगहरू सामान्य अवस्थामा फर्किने कसरत गरिरहेका छन् ।
केही अर्थशास्त्रीहरू महामारीका कारण अझै पनि लाखौं रोजगारीका अवसरहरू स्थापित हुन नसकेको बताइरहेका समय अमेरिकी श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले भने बेरोजगारीको दरमा आधा अङ्कले कमी आएको र ५.४ प्रतिशतसम्म कायम भएको देखाएको छ ।
कोभिड–१९ नियन्त्रणका लागि अमेरिकाले व्यापक खोप अभियान चलाएको र यसबाट महामारीलाई नियनत्रणको बाटोमा ल्याइएको सरकारको दावी छ । आर्थिक गतिविधि सामान्य हुन थालेपछि काममा जोडिने क्रमले गति लिन थालेको छ । तर अर्थतन्त्र महामारी पूर्वको स्तरभन्दा रोजगारीको सङ्ख्या अझै ५७ लाख कम रहेको छ ।
गैर–कृषि क्षेत्रमा रोजगारीका अवसरहरू अझै पूर्ववत अवस्थामा आउन नसकेको बताइएको छ ।
पर्यटन क्षेत्रमा खासै सुधार नदेखिएको भएपनि कृषि तथा सार्वजनिक शिक्षा क्षेत्रमा रोजगारीको दर क्रमशः तीन लाख ८० हजार र दुई लाख २० हजारले बढेको छ ।