
सरकारी जागिर पाउनका लागि धेरै कसरत गर्नुपर्छ । लोक सेवा पास गर्न कठिन हुन्छ भने करारमा जागिर खान नातागोता र पैसा चाहिन्छ तर हुदाँखाँदाको जागिर नै छाडेर मोरङका एक व्यक्ति व्यावसायिक मौरीपालन गरिरहेका छन् ।
२०५६–२०६२ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकमा जागिर खाएका इमनाथ पोख्रेलले जागिर छाडेर मौरीपालन व्यवसाय गरिरहेका छन् । जागिर छँदा नै ८ घार मौरी ल्याएर पालन शुरू गरेका थिए उनले ।
पोख्रेलका अनुसार मौरीको मह खाँदै जादा यही पेशाप्रति आकर्षण बढ्दै जान थाल्यो । सुब्बा सरहको तलब खाने गरेका पोख्रेल जागिरमा हौसिएर काम गरिरहेका थिए । ‘इमेल इन्टरनेटको पहुँच थिएन,’ पोख्रेलले जागिर छाड्दाको दिन सम्झँदै भने, ‘कार्यालयबाट फोन आयो १ घण्टाभित्रमा रिपोर्ट पठाउनू । म लेटाङमा बस्थें । बसमा चढेर विराटनगरमा जादा १ घण्टाभन्दा बढी लाग्थ्यो । बसमा चढ्ने ठाउँमा पुग्न आधा घण्टाभन्दा बढी लाग्थ्यो । कार्यालयमा रिपोर्ट बझाउनुभन्दा जागिरबाट नै बिदा लिएर आएँ । कार्यालयको नियमभन्दा पनि हाकिमको तजबिजले काम लगाउँथे ।’
राजीनामा दिएर घरमा आइपुग्दा उनले धेरैको गाली खानुपर्यो । ‘धेरै जनाले यस्तो के गरेको भनेर गाली गरे, घरपरिवारका त केही समय मसँग बोलेनन्,’ पोख्रेल सम्झन्छन्, ‘मलाई पनि बिगार गरिएछ कि भन्ने भयो । धेरैले हुँदाखाँदाको जागिर छाडेर पोख्रेल बौलायो भनेर पनि भन्न थाले ।’
अहिले पोखरेलले २५० घारभन्दा बढी माहुरी पालेर वार्षिक ५० क्वीन्टलभन्दा बढी मह उत्पादन गर्ने गरेका छन् । वार्षिक १२–१३ लाख रुपैयाँ कमाइ हुने गरेको उनी बताउँछन् । मौरीपालन गर्दै आएका पोख्रेल भन्छन्, ‘खर्च कटाएर प्रतिकिलो ४०० रुपैयाँ नाफा हुने गरेको छ ।’ २ प्रजातिका मौरी पालेका उनले मौरी सहितको घार समेत बिक्री गर्ने गरेका छन् । उनी २०६२ सालदेखि नै कृषकहरूलाई तालिम दिँदै आएका छन् ।
व्यावसायिक मौरीपालनमा लागेका कृषकहरू चाप फुल्ने समयमा जंगल मौरी चराउने गर्छन् भने तोरी फुल्ने समयमा बारीमा हुन्छन् । कात्तिकदेखि ३–४ महिना तोरीको फूलमा मौरी चर्ने गरेकाले उत्पादन बढी हुने गरेको उनले बताए ।
‘मौरी चराउन लैजान पनि समस्या छ, सबै बालीमा विषादी हानिएको हुन्छ, विषादीका कारण धेरै मौरी मर्ने गर्छन्,’ उनले भने । भुनभुन गर्दै मौरी तोरीको फूलमा रमाउँदा आनन्द आउने गरेको उनी बताउँछन् ।
मोरङका धेरै ठाउँमा कसको बारीका के खेती छ, कसले कस्तो विषादी प्रयोग गरेको भन्ने आफूलाई थाहा हुने गरेको उनी बताउँछन् ।

‘उदयपुरको बेलका नगरपालिकाको मैनामैनीमा केही वर्षअघि चिउरी फूल छ भन्ने सुनेर मौरी लिएर गएको थिएँ, त्यहाँ स्थानीयबाट ठूलो असहयोग भयो,’ उनी भन्छन्, ‘बाह्यबाट जानेलाई असहयोग गर्दा रहेछन् ।’
केही वर्षअघिसम्म भारत–चीन लगायतका देशमा समेत मह पठाउने गरेपनि अहिले बन्द भएको उनी सुनाउँछन् ।
नेपालमा पनि धेरैले महमा विभिन्न वस्तु मिसाउने गरेका कारण अन्तर्राष्ट्रिय बजारमा खपत गर्न कठिन हुने गरेको उनी सुनाउँछन् । नेपालमा महको शुद्धता छुट्याउन ल्याब नभएकै कारणले समस्या भएको पोख्रेल बताउँछन् । ‘सरकारले अनुदानभन्दा पनि ल्याब र प्रविधिको विकास गरिदिए हुन्छ, अनुदान वास्तविक किसानसम्म पुग्दैन,’ उनले भने ।
नेपाल मौरीपालक महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका पोख्रेल मोरङका पहिलो मौरीपालक कृषक समेत हुन् । झापा, मोरङ र सुनसरीका किसानको प्रतिनिधित्व गर्दै पोख्रेलले महासंघको केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका थिए । ‘अहिले पनि दक्ष जनशक्ति पाइँदैन,’ पोख्रेल भन्छन्, ‘मैले शुरू गर्दा केही ज्ञान थिएन, जान्ने–बुझ्ने साथीहरूले पनि सिकाउनु हुँदैन, हाम्रो महले बजार पाउँदैन भन्थे ।’
जागिर छाडेपछि मौरीबारे बुझ्न तालिम खोज्दै काठमाडौंदेखि चितवनसम्म विभिन्न कार्यालयमा धाएको उनले बताए । चितवनमा व्यावसायिक मौरीपालन हुन्छ भन्ने सुनेर सोध्दै खोज्दै पुगेर आफ्नै खर्चमा होटलमा बसेर सीप सिकेको उनी बताउँछन् । उनी हाल मौरीपालक सहकारी संघका सञ्चालक छन् ।

‘नेपालमा सबैभन्दा राम्रो मह उत्पादन हुन्छ तर राज्यले यसलाई ब्रान्डिङ गर्न पहल गरिदिनुपर्यो,’ उनी भन्छन्, ‘नेपालका चारकोसे झाडी तथा जंगलमा चराएका मौरीको महमा औषधि नै हुन्छ ।’ उनले उत्पादन गरेको महको मूल्य ७–११ सय प्रतिकिलो हुने गरेको छ । ‘७ सय रुपैयाँमा तोरी बारीमा चरेको बेलाको मह बेच्छौं, जगलमा चराएको समयमा ११ सय रुपैयाँमा बेच्छौं,’ उनले भने, ‘लकडाउनको समयमा समेत बजार अभाव भएन ।’
शक्तिवद्र्धक खानेकुराका रूपमा मह पर्ने भएकाले माग बढ्दै गएको उनले बताए । स्थानीय बजारमै उनले उत्पादन गरेको मह खपत हुने गरेको छ । एकपटक मह लैजानेले फोन गरेर नै माग्ने गरेको उनी बताउँछन् । ‘शुद्ध उत्पादन गर्नुपर्यो, बजार अभाव हुँदैन । एकैपटक धेरै कमाउन खोज्यो भने समस्या हुन्छ,’ उनले भने ।